नेभिगेशन
विचार
टिप्पणी 

मुकुट ढलेका मुकुल

राजनीतिमा एउटा भनाई छ– नर्कका सबैभन्दा अँध्यारा ठाउँहरू नैतिक संकटको समयमा आफ्नो तटस्थता कायम राख्नेहरूका लागि आरक्षित छन्। सायद राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालको हाल यहि होला, अहिले। 

सभापति रवि लामिछानेका खास मध्यका पनि खास मानिने, अझ ढाकाकुमार श्रेष्ठको भाषामा ‘कोर टिम’का मानिने उनको शिरमा पार्टीको मुकुट थियो। त्यो १९ गतेको केन्द्रीय समितिको बैठकमा ढल्यो। अझ टिठलाग्दो विषय त के हो भने उपसभापति डीपी अर्यालले ढकाललाई महामन्त्री मानेर जान सकिन्न भनी निर्णयअघि नै घोषणा गरे। कति निचोरिएको महसुस गरेका थिए, ढकालले? यो उनको अनुभवको संगालोमा रहला नै। 
यहाँ एउटा नजीरको स्मरण गराऔं। 

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपूर्व चलेको आरोप प्रत्यारोपसहितका विभिन्न दस्ताबेज प्रकरण पुराना भइसकेका छैनन्। नेकपा रहँदा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका थिए। नेकपा विभाजनपूर्व प्रचण्डले तयार पारेको एउटा दस्ताबेज नै यसको चुरो कारण बन्यो। उनले त्यो दस्ताबेजलाई ओलीविरुद्ध आगो ओकल्ने प्रयत्न भनी ब्याख्या गरेनन्। उनले भने,‘बमबार्ड दी हेडक्वार्टर।’ 

असार १९ गते बसेको केन्द्रीय समितिको बैठकमा ढकालले रास्वपा सभापतिको मनोपोलीका कारण पार्टी सक्किने अवस्थामा रहेकोलगायतका विभिन्न आरोप लगाएर प्रतिवेदन बुझाएका थिए। जसको केन्द्रीय समिति बैठकका अधिकांश सदस्यले प्रतिवाद गरेका थिए। 

यथार्थमा सही विश्लेषणसहितको प्रतिवेदन बुझाए पनि लामिछानेमाथिको उक्त प्रहारको प्रतिरोधमा अन्य उत्रिएपछि ढकाल अल्पमतमा रहे। यसैकारण उनको महामन्त्री पद पनि धरापमा परेको थियो। उनलाई निलम्बन गर्दै, महामन्त्री पदको कार्यबाहक जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको थियो।

नेपालको पार्टी राजनीतिलाई सायद ढकालले मिहिन ढङ्गबाट अध्ययन गरेनन् कि? एमालेमा भिम रावल कहाँ छन् भन्ने हेक्का राखेनन् कि? कांग्रेसमा शेरबहादुर देउवाकाअघि कति भुत्ते छन् तिखा आवाज भन्ने पनि सोचेनन् कि? 

खैर अन्य केही नजीर प्रस्तुत गर्दछु।   

कुनै बेला माओवादीमा प्रभावशाली मानिने रविन्द्र श्रेष्ठहरू आफ्नै कारणले पतन भए। रणनीतिक योजनाकार मानिने प्रचण्डका नै राजनीतिक गुरुसमेत भनिएका मोहन वैद्यहरू स–साना कम्युनिस्ट त्यान्द्रोको वकालत गरिरहेका छन्। 

डा. बाबुराम भट्टराई जस्ता विद्वानहरूको बिद्रोह स्थापित हुन नसक्दा राजनीतिका नाममा निक्कै कमजोर लहरोमा अडिएका छन्। यस्ता बलिया उदाहरण र अवस्था देख्दादेख्दै ढकालले हेडक्वार्टरमा हानेको बमका छर्रा उनैतिर फर्किएका छन्, अन्य बुलेटप्रुफ ज्याकेट लगाएर बसेका थिए तर ढकाल आफैं ढल्ने चालै पाएनन्।

ढकालले सभापति लामिछानेका कमजोरीलाई बेजोडले उठाउन पाउँथे, तर पतित बन्नेगरी ब्याख्या गर्दा सबैभन्दा नजिकबाट बुझेका लामिछानेले के मात्रै गर्न सक्छन् भन्ने हेक्का राखेका थिए या थिएनन्?  या उनलाई कारबाही गरिने चाल पाएर नै यो तहको आक्रामक शैलीको प्रस्तुती दिएका थिए? यो गर्भमा नै छ। तैपनि सरसरर्ती हेर्दा ढकालले केही बुझ्न आवश्यक थियो, त्यो औंल्याइदिन्छु।  

चौतर्फि घेराबन्दीबीच लामिछाने उभिन सफल भए। उनलाई सिध्याउने गतिमा राज्यदेखि मिडिया मात्र लागेका थिएनन्, छैनन् आफ्ना आफन्त लाग्दा पनि जागिरहेका छन्। यो उनको राजनीतिक दाउपेचको शैली हो। यति भयानक शैली भएका लामिछानेमाथि उनकै आडमा बसेर प्रत्याक्रमण गर्दा आफू नै सक्किइन्छ भन्ने सामान्य ज्ञान समेत नराख्नु मुकुल ढकालको रणनीतिक बचकनाबाहेक केही देखिएन। भलै उनले पार्टीको भलो सोचेका होलान् तर पार्टीले उनको भलो सोचिदिएन, यहि दुखान्त भयो उनको राजनीतिक यात्रामा।

एउटा कुरा हेक्का हुनुपर्छ– उत्कृष्ट राजनीतिक नेताहरूले आफ्ना सदस्यहरूलाई सम्मान गर्ने र आउने कुराको चित्रलाई चित्रण गर्ने आकर्षक कथालाई कसरी आकार दिने भनेर जान्नुपर्छ। महामन्त्री जस्तो गहन र भारी जिम्मेवारी लिएका ढकालले सायद यस्तो व्यवाहार गरेका थिएनन् र ५२ जना केन्द्रीय समिति सदस्यका ९९ प्रतिशत उनको विपक्षमा उभिएका थिए। कतिपयले ढकालको बिगतको व्यवाहारका कारणले पनि यस्तो परिस्थिति आएको भन्ने गरेका टिप्पणीमा सत्यता हुन सक्छ।

यसकारण एक पटक मुकुट उत्रेपछि त्यसलाई फेरि प्राप्त गर्नका लागि निक्कै समय लाग्छ। रास्कोट अस्पताल निर्माणमा लामिछानेसँग जोडिएका ढकाल राजनीतिक दल स्थापनाको विन्दुमा एक मात्र महत्वपूर्ण जिम्मेवारी पाउने व्यक्ति थिए। राजनीतिमा नेताले जहिले पनि समदूरीको सम्बन्धमा खेल्दा आफू कहिले डिफेन्सिफ पनि हुनुपर्छ भन्ने पर्याप्त उदाहरण छन्। 

रवि लामिछानेले तीन नेतासँग निरन्तरको वार्ता गर्दा राजनीतिक दल हाँक्ने कला पनि सिकेर आएका थिए भन्ने हेक्का नराख्नु पनि मुकुलको मुकुट फुस्किनुको कारण हो। व्यक्ति र लोकप्रियताको आडमा दल गठन गरेर सत्तासम्म पुग्ने नेतृत्व गर्ने लामिछानेले संगठनलाई समानान्तर चलाउने कोशिश गर्दा आफू डिफेन्सिफ या प्यासिभ बस्न नसक्नेले राजनीति गर्न सक्ला र? 

एमालेमा सँधैभरी काखीमा च्यापेका सुवास नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीले पराजित हुने राष्ट्रपति पदको उम्मेदवार बनाएको उदाहरण थिएन र? सँधैभरी उत्तराधिकारी बन्न सक्छन् भनेर अड्कल काटिएका विष्णु पौडेललाई उपाध्यक्षमा थन्क्याएर शंकर पोखरेल महासचिव बनाउँदै अगाडि सारेको उदाहरण थिएन र? यस्ता अनेक उदाहरण छन्। प्रचण्डले बर्षमान पुन र जनार्दन शर्मालाई नच्यापी देव गुरुङलाई ल्याएको उदाहरण थिएन र?

शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई जेल हाल्दा मौन बसी पूर्णबहादुर खड्कालाई अगाडि सारेको स्थिति देखिएको थिएन र? राजनीतिमा यस्तै हुन्छ, अझ नेपालको राजनीतिमा स्वभाविक मान्नुपर्छ।

यसर्थ, मुकुलले अब के गर्लान् भन्ने अपेक्षा या आशाको विषय होइन। उनी आफ्नो पेशातिर फर्केलान्। तर, राजनीतिका गोटीको चालबाजीलाई भने मिहिन ढङ्गले बुझ्न सक्ने स्थिति बनाएका रहेनछन्। सभापति लामिछानेको सँधै दाहिना हुन सकिन्न थियो भन्ने उनले लख काटेका रहेनछन्। किनभने, यस्तै दाहिना ठान्ने डीपी अर्यालहरू र समदूरीका प्रतिस्पर्धी मानिने डा. स्वर्णिम वाग्लेहरूलाई पनि लामिछानेले चेक मेट दिनका लागि मुकुलजस्ता ऊँट, हात्ती वा घोडा गुमाउँदा पछुतो मान्दैनन् भन्ने बुझ्नपथ्र्यो। खैर, ढकालको भविष्य उज्जवल होस्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्