Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वासको मत नै फेस गर्छु : मुख्यमन्त्री जम्कट्टेल

सोमबार, असार २४, २०८१

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने बताएका छन् ।

सरकारबाट एमाले बाहिरिएसँगै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले आफू राजीनामाको पक्षमा नरहेको र चाँडोभन्दा चाँडो विश्वासको मत लिने बताए । अहिले सरकारमा सहभागी दलहरू एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग विश्वासको मतको विषयमा छलफल भइरहेको उनको भनाइ छ । राष्ट्रिय राजनीतिक घटनाक्रमअनुसार आफूहरू चल्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै उनले एमालेसँगको सहकार्यमा आफूलाई सहयोग गर्ने सबै मन्त्रीलाईलाई धन्यवाद समेत दिए ।

११० सांसद रहेको बागमतीमा हाल ७ वटा दल छन् । सबैभन्दा ठूलो दल नेपाली काँग्रेससँग ३७ जना सांसद छन् । एमालेका २७ जना छन् । बहुमतका लागि ५६ जना चाहिनेमा काँग्रेस-एमाले मिल्दा ६४ जना पुग्छन् ।

हाल सरकारमा नरहेको राप्रपासँग सभामुखबाहेक १२ सीट छ । नेकपा माओवादी केन्द्रको २० सीट, नेकपा एसको ७, हाम्रो नेपाली पार्टीको २ जना छन् । माओवादी सरकारलाई हाल समर्थन संख्या २८ मात्र हुन्छ । हाम्रो नेपाली पार्टीको एकजना सदस्यले जम्कट्टेल सरकारलाई विश्वासको मत दिएको थिएन भने नेमकिपाको ३ जना पनि मौन बसेका थिए ।

यसैबीच, एमाले संसदीय दलका नेता तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले भने सरकार अल्पमतमा परिसकेकोले दूरगामी असर पार्ने निर्णय नगर्न मुख्यमन्त्री जम्कट्टेललाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्