Nic Ad Nic Ad
Nic Ad Nic Ad

बीआरआईविरुद्द पोखरा एयरपोर्ट अगाडि प्रदर्शन

सोमबार, असार २४, २०८१

काठमाडौँ- पोखरा विमानस्थललाई चीनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत व्याख्या गरेपछि त्यसको विरोधमा विमानस्थलअघि प्रदर्शन गरिएको छ ।

सोमबार राष्ट्रिय एकता अभियानले विमानस्थल गेटमा प्रदर्शन गरेको हो । पोखरा विमानस्थललाई बीआरआई परियोजनासँग जोड्दा सञ्चालनमै समस्या भएको अभियानले जनाएको छ । विमानस्थलमा देखिएको समस्या समाधान नभएसम्म सञ्चालन हुन नसक्ने उनीहरूको भनाई छ । अभियानका संयोजक विनय यादवले ऋण र ब्याजदरको अध्ययन गरी समाधान निकाल्नुपर्ने बताए ।

सबै ऋणलाई अनुदानमा परिणत गर्न उनीहरूको माग छ । अभियानले ९ बुँदे माग राख्दै संसदीय उपसमितिका संयोजक राजेन्द्र लिङ्देनलाई पत्र बुझाएको छ । उनीहरूले रनवेको लम्बाई ३,२०० मिटर पुर्‍याउनुपर्ने माग समेत राखेका छन् ।

विमानस्थलका कारण उत्पन्न हुने ध्वनि प्रदूषण, हावाको गुणस्तर र स्थानीय वन्यजन्तुमा पर्ने प्रभावको अध्ययन गरी तदनुरूप उपायहरू अपनाउनुपर्ने, स्थानीय समुदाय, व्यवसाय र अन्य सम्बन्धित पक्षहरूलाई निर्णय प्रक्रियामा सहभागी गराई पारदर्शिता र तिनका सरोकारहरूलाई सम्बोधन गर्नुपर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्डहरूको पालना गर्नुपर्ने लगायत माग उनीहरूले राखेका छन् । विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै अनुसन्धान र कारबाही हुनुपर्ने समेत अभियानको माग छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्