Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्षाका कारण ५ हजार ४५९ घण्टा राष्ट्रिय राजमार्ग अवरुद्ध

सोमबार, असार २४, २०८१

काठमाडौँ- वर्षाका कारण देशभरिका राष्ट्रिय राजमार्गहरू ५ हजार ४५९ घण्टा अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार यो तथ्यांक गत वैशाखदेखि २४ असारसम्मको हो ।

देशभरि यो अवधिमा २१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये सोमबारसम्म २० स्थान बाहेक अन्य स्थानमा भने यातायात सञ्चालनमा आइसकेको र २० स्थानमा भने अझै पनि राजमार्ग अवरुद्ध रहेको विभागले जनाएको छ । यसरी राजमार्ग अवरुद्ध भएका राजमार्ग तथा सडकको संख्या ३१ रहेको छ । अवरुद्ध भएकामध्ये १०८ स्थानमा एकतर्फी रूपमा यातायात चलिरहेको छ । ९ वटा राजमार्गमा अहिले पनि अवरोध जारी रहेको विभागको तथ्यांक छ ।

१४ असारसम्म सडकमा भएको अनुमानित क्षति ९ करोड ८८ लाख रुपैयाँ बराबरको रहेको छ । पुलतर्फ जारी मनसुनमा ५ वटा पुलमा क्षति भएको पाइएको छ ।

यसको क्षति २६ करोड ८० लाख रुपैयाँ हाराहारी रहेको विभागको तथ्यांक छ । अहिले अवरुद्ध भएकोमा सोमबार तानसेन–रिडी कोरला खण्डको गुल्मी, महेन्द्र राजमार्गको कञ्चनपुर र मध्यपहाडी राजमार्गको डोटीमा सडक अवरुद्ध भएको देखिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्