Nic Ad Nic Ad
Nic Ad Nic Ad

आखिर को हुन् यी बेचन झा जो सत्ता समीकरण बदलिनुको कारण भनी सदनमा हुंकार छ

सोमबार, असार २४, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण बन्नुको प्रमुख कारण बेचन झा पक्राउ प्रकरण भनी अहिले प्रतिनिधि सभामा रडाको छ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेलगायत प्रमुख सचेतक सन्तोष परियारले पनि यहि भनेका थिए। 

केही दिनअघि अर्थमन्त्री बर्षमान पुनः पनि यहि विषय फलाकिरहेका छन्। कांग्रेस–एमालेका नेता भने यसको प्रतिवाद गरिरहेका छन्। आखिर को हुन् यी बेचन झा? नेपालसँग के कनेक्शन छ? सत्ता र शक्तिसँग उनको कुन तहको प्रभाव छ?

पहिलो त बेचन झा नेपाली नागरिक होइनन्। तर उनको थापाथलीमा आलिसान महल छ। भारतीय नागरिक झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। उनले मन्त्रिपरिषदमा निर्णय गराउने भनी दुई करोड लिएको भन्ने प्रमाणका रुपमा प्रहरीले एउटा ‘चेक’ फेला पारेको छ। 

स्याल कराउनु र बाख्रा हराउनु भनेजस्तो झा पक्राउ पर्नासाथ कांग्रेस–एमाले समीकरण बनाउने सहमति भएको थियो। अहिले सरकारमा रहेका दलले स्वभाविक रुपमा बेचन झालाई कारण देखाउनुको अर्थ हो, नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको डाइरेक्ट कनेक्शन हुनु। 

यसबाहेक पत्नी र छोराहरूका नाममा ब्यापार गरिरहेका झाको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग सम्बन्ध रहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस एमालेका नेताको संलग्नता पनि पुष्टि भइसकेको छ। 

झाको सम्बन्ध कांग्रेसका नेता कृष्ण सिटौला, विमलेन्द्र निधि, आरजु राणालगायतसँग रहेको पाइन्छ। यसरी नै एमालेका टोपबहादुर रायमाझीलगायतका नेतासँग पनि उनको उठबस रहेको स्पष्ट खुलीसकेको छ। 

कसरी आए त यी बेचन झा नेपाल अनि यत्रो पहुँच कसरी भयो? भन्ने पनि रोचक सन्दर्भ छ। 

काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिक अखबारका अनुसार तराईका चर्चित नेता बेदानन्द झाका दाइ कुलानन्दकी छोरीसँग विवाह गर्नका निम्ति नेपाल भित्रिएका उनी नेपालकी छोरी लिएर आफ्नो देश गएनन्, यहीँ बसेर पत्नीका नाममा व्यावसायिक कारोबार चलाइरहे। 

बेदानन्द पञ्चायतकालमा गृह र वाणिज्यमन्त्री हुँदै राजसभा स्थायी समितिको सभापतिसम्म भएका व्यक्ति हुन्। दाइ कुलानन्द ००७ सालको क्रान्तिदेखि नै बिपी कोइरालाका विश्वासिला नेता। पछि तराई मामिलामा दृष्टिकोण मिलेन र कुलानन्दले बिपीको छाथ छाडेर तराई कांग्रेस गठन गरे। उनकै राजनीतिक सहयात्री थिए, गजेन्द्रनारायण सिंह, जसले ०४६ सालपछि मधेसी पहिचानको नारालाई स्थापित गर्दै नेपाल सद्भावना पार्टी बनाए। 

कुलानन्दले तराई कांग्रेस स्थापना गर्दा बेदानन्द पटनामा अखबारको सम्पादक थिए। दाजुले पार्टी खोलेपछि त्यसलाई फैलाउन र त्यहीमार्फत राजनीतिक गतिविधि गर्न स्वदेश फर्किए। तराईका विभिन्न जिल्लामा संगठन फैलाउँदै २०१५ सालको आम निर्वाचनमा तराई कांग्रेसले भाग लियो, एउटा सीट पनि जित्न सकेन। कुलानन्द त जीवनभर प्रजातान्त्रिक र तराई पहिचानको आन्दोलनमै लागिरहे। बेदानन्द भने पञ्चायतमा प्रवेश गरे।

कुलानन्दको निधनपछि उनको परिवारलाई बेदानन्दले नै अभिभावकत्व दिए। र, दाजुको निधनपछि बेचनले दाजुकी छोरीसँग विवाह गरेका हुन्। 

पत्नी नेपाली भएपछि उनकै नाममा बैंक खाता, चल र अचल सम्पत्तिको कारोबारमा सक्रिय भए। शुरुमा नेपाल विद्युत प्राधिकरणका ट्रान्समिटर लाइन जडान गर्ने ठेक्काबाट कुस्त रकम कमाए। फर्म पत्नीको नाममा, काम उनको। पैसा कमाएपछि घरबारसहित सामाजिक प्रतिष्ठा हासिल भयो।

राजनीतिमा मधेसी खेमासँग त्यति राम्रो सम्बन्ध भएका व्यक्ति होइनन्। बरु, डा.आरजु राणा, कृष्ण सिटौलासहित एमाले र माओवादीका नेतासँग नजिक छन् र गफाडीका रूपमा चिनिन्छन्। सक्ने नसक्ने सबै कामको जिम्मा लिने बानी छ। त्यहीअनुसार नक्कली भुटानी शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउने विषयमा मन्त्रिपरिषद्बाटै निर्णय गराउने भनेर दुई करोड लिएबापत अहिले पक्राउ परेका हुन्।

करिब ३० वर्षदेखि उनले काठमाडौंमा विद्युतीय उपकरणको ठेकेदारी गर्दै आएका छन्। श्रीमतीको नाममा ‘फर्म’ खोलेर थापागाउँमा बंगला ठड्याएका छन्। पहिलेपहिले हरेक महिना सत्यनारायणको पूजा लगाउने गर्थे। बेचनले छोराको नाममा रहेको ‘विभांशु ब्रदर्स’ मार्फत विद्युत प्राधिकरणबाट ठेक्का लिँदै आएका छन्। 

प्राधिकरणले बिजुलीको ट्रान्सफर्मरदेखि एअर कण्डक्टरसम्म उनकै कम्पनीबाट खरिद गर्दै आएको छ । यति मात्र नभई भारतीयसहित विदेशी ठेकेदारहरूको नेपाल प्रतिनिधिको रुपमा पनि काम गर्दै आएका छन्। देउवापत्नी आरजु राणा, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, महन्थ ठाकुर, माओवादी नेता टोपबहादुर रायमाझीलगायतसँग सम्बन्ध बनेको छ। 

आरजुका भाइ भुषण राणासँग पनि व्यवसायिक चिनजान रहेकै हो। भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेसँग मिलीभगत गरेका झाले सो प्रकरणका अन्य बिचौलियाहरूलाई गृहसचिवसँग भेटाउने कामको समन्वय गरेका थिए। 

केसीले २०७८ मंसिर ८ गते राति ८ बजे उनको घर थापागाउँमा दिएको दुई करोडको चेक प्रहरीले फेला पारेको छ। एउटी छोरीको विवाह भारतमै भएको छ। एउटा छोराको विवाह सप्तरीकी नेतृ ममता झाकी छोरीसँग भएको हो। ममता पूर्वअञ्चलाधीश जगदीश झाकी छोरी हुन्। गत उपराष्ट्रपतिको निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट उठेकी थिइन्।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्