Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस महासमिति सदस्य राईका घरमा सशस्त्र प्रहरी ‘कामदार’, नेपाल प्रहरीका डीएसपीसँग सेटिङ

सोमबार, असार २४, २०८१

धरान– राजनीतिक शक्ति केन्द्रका आडमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका साना दर्जाका कर्मचारीको व्यापक श्रम शोषण र दुरुपयोग हुने क्रम नयाँ होइन। 

आवश्यकभन्दा पनि बाहिर भीआईपीको घरमा अर्दलीका रुपमा खटाइने सुरक्षाकर्मीलाई शक्तिका आडमा जिल्ला तहका नेताका घरमा पनि खटाइएको पाइएको छ। 

सशस्त्र प्रहरी बराह बाहिनीबाट एक जना हवल्दार नेपाली कांग्रेसका महासमिति सदस्य सुवास राईको घरमा श्रमिकका रुपमा खटाइएको पाइएको हो। राई धरान निवासी हुन्। 

उच्च स्रोतका अनुसार सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक (आईजी) दुर्जकुमार राईले पाएको अर्दली सुविधाका हवल्दारलाई त्यहाँ खटाइएको हो। सुवास राईको घरमा ति हवल्दार भान्छेको काममा लगाइएको बताइएको छ। 

सुवास राई धरानका विवादीत जग्गा व्यापारी पनि हुन्। एउटा विवादीत जग्गाको विषयमा उनको संलग्नताको पुष्टि भएको छ। धरानकै रामप्रसाद राईको जग्गामा विवाद ल्याएर एक युवतीका पक्षमा राई लागेको पनि खुलेको छ। 

उक्त विवादको विषयमा भएको सहमतिको कागजमा राई साक्षीका रुपमा पनि बसेका छन्। तर, त्यहि जग्गा आफूतिर ल्याउन रामप्रसादलाई अलग उजुरी प्रकरणमा लगाई इलाका प्रहरी कार्यालय धरानका विवादीत प्रहरी नायव उपरिक्षक (डीएसपी) मानबहादुर राईसँग सेटिङ मिलाएको आरोप लागेको छ। 

डीएसपी मानबहादुर राई अहिले पत्रकारमाथि ज्यादती गरेको अभियोगमा अनुसन्धानको दायराभित्र छन्। 

सशस्त्र प्रहरी उच्च अधिकारीका अनुसार त्यसरी आफ्ना कर्मचारी कुनै अमुक व्यक्तिको घरमा कसैगरी पठाउने चलन छैन। त्यसरी अनधिकृत पाइए फिर्ता बोलाउने काम हुने ति अधिकारी बताउँछन्। 

(सशस्त्र प्रहरीका कर्मचारी अनधिकृत रुपमा कामदार बनाएको विषयमा सुवास राईसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन, राईको मतलाई पनि प्रकाशन गरिनेछ– सम्पादक)
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्