Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्यकर्मीले नै बोकेर पुर्‍याइदिए सुत्केरीलाई घर

मंगलबार, असार २५, २०८१

प्युठान - प्युठानको ऐरावती गाउँपालिका-६, काल्नेकी जीवा विकलाई शनिबार साँझ पर्न लागेसँगै सुत्केरी व्यथाले च्याप्न थाल्यो । ३० वर्षकी जीवा माइती घरबाट छोरो र आमासहित शनिबार रातको ८ बजे करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका– ३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् । सोही दिन राति १० बजे जीवाले सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीले उनलाई घर जान सुझाए । तर लगातारको झरीले ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा गाडी चलेनन् । उनी आफैं हिँडेर जान सक्ने अवस्था पनि थिएन ।


धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जीवाको घर झण्डै १ घण्टाको दूरीमा पर्छ । उनलाई घर लैजाने कोही नभएपछि स्वास्थ्यकर्मीले ‘स्ट्रेचर’मा राखेर घर पुर्‍याइदिएका छन् । कार्यालयका जनस्वास्थ्य निरीक्षक टुकाराम पोखरेलले जीवालाई घर लैजाने कोही नभएपछि आफूहरूले लगिदिएको बताए ।


‘स्वास्थ्य चौकीमा आएका गाउँका मान्छेहरूलाई घरसम्म पुर्‍याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार नभएपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पुर्‍याइदियौं,’ उनले भने ।​ पोखरेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई पालैपालो बोकेर घरसम्म पुर्‍यादिएका हुन् ।

कार्यालयमा जनस्वास्थ्य निरीक्षक पोखरेलबाहेक अरु सबै महिलामात्र कर्मचारी छन् । ‘आफैं हिँडेर जान्छु पो भन्न थालेपछि सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत गर्‍यौं । शुरूमा मैले अगाडिबाट दुवै काँध थापें । पछाडितिर महिला कर्मचारीहरूलाई बोक्न भनें । पछि आलोपालो गरियो,’ पोखरेलले भने ।

गाउँमा युवाहरूको अभावले यस्तो समस्या देखिएको हो । अहिले गाउँमा पुरुष र युवाहरूको अभाव छ । भएका केही व्यक्तिहरू पनि खेतिपातीको सिजन भएकोले व्यस्त थिए, अनमी पार्वता पुनले भनिन, ‘हामीले बोकेर लैजान्छौं भन्दा म आफैं हिँडेर जान्छु भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई रक्तश्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौं ।’

उनको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नुपर्छ । पानी परेकाले गोरेटो बाटो चिप्लो थियो । महिला कर्मचारीहरूले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो । तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,’ पुनले भनिन्, ‘बाटोमा मान्छेहरूले हामीलाई हेरिरहे । सहयोग गर्न कोही आएनन् ।’

अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाएझैं लागिरहेको सुत्केरी जीवाले बताइन् । सामाजिक सञ्जालमा अहिले स्वास्थ्यकर्मीले सुत्केरी बोकेको फोटो भाइरल छ । सुत्केरी जीवा मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आएकी थिइन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको कारण उनी माइतमा बस्दै आएकी थिइन् । उक्त स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्