Nic Ad Nic Ad
Nic Ad Nic Ad
उद्योग

पटक–पटक पावर ट्रिपिङले रिलायन्स स्पिनिङ मिल्सको इपीएसमा कमी

मंगलबार, असार २५, २०८१

काठमाडौं–३० बर्ष देखि सञ्चालित नेपालकै ठूलो मध्येको एक उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अहिले चर्चामा छ । 

पहिलो कारण हो, रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्दैछ। बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएपछि प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणका लागि आईपीओे खुलाए पछि विभिन्न कोणबाट यसको चर्चा चुलिएको छ ।

दोस्रो कारण हो, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले घोषित लोडसेडिङको बेला डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत जडान गर्ने ठूला उद्योगहरूलाई लगाउन खोजिएको विवादास्पद विद्युत महसुलसँग जोडिनु । 

नेपालमा लोडसेडिङको समयमा जसोतसो उद्योगहरू जोगिए पनि त्यो बेलाका लागि लगाउन खोजिएको प्रिमियम विद्युत महसुसलबाट धेरै उद्योगहरू अहिले पनि त्राहिमाम् रहेका छन्। 

आफूले भनेको महसुल तिर्नै पर्छ भनेर ताकेता बढाइरहेको विद्युत प्राधिकरण स्वयमसँग पनि पुग्दो प्रमाण नभएको उद्योगहरूको तर्क छ ।

आफुहरूले नियमित महसुल तिर्दै आएको भए पनि लोडसेडिङको बेला बाँकी रहेको भन्दै हचुवा र बिना आधार करोडौँ रूपैयाँको बक्यौता देखाएको भन्दै उद्योगहरूले त्यसको बिरोध गर्दै आएका छन् । तर विद्युत प्राधिकरण भने त्योबाट पछि नहट्ने अडानमा छ । 

खास गरि रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक पक गोल्यानले प्राधिकरण र त्यसका निर्देशक कुलमान घिसिङका विरूद्ध सार्वजनिकरूपमा नै असहमति प्रकट गर्ने गरेका छन्। ‘आफुले विद्युत प्राधिकरणको आलोचना गरेको र असहमति जनाएको कारणले नै विद्युत प्राधिकरणले आपूर्तिमा अनावश्यक सास्ती दिने गरेको’ रिलायन्सको दाबी छ। 

प्राधिकरणले दुहवी फिडर, खनार सबस्टेसनमार्फत छुट्टै आपूर्ति गराइरहेको विद्युत बिना सूचना काट्ने, लोड कम गराउने र भोल्टेज कम बढि आपूर्ति गरिदिने गरेको उद्योगको आरोप छ । सोही समस्या लामो समयदेखि रहदा उद्योग सञ्चालनमा कठिनाइ भएको, निर्यात र व्यापारमा समेत प्रत्यक्ष असर परेको जसले गर्दा उद्योगको इपिएसमा नै कमि आइरहेको रिलायन्सले क्यानडानेपाललाई जानकारी दिएको छ । 

पटक पटक पावर ट्रिपिङ हुँदा कारखानामा प्रयोग भएका मेसिन तथा उपकरणहरूमा नै क्षति भएको, मर्मत र सञ्चालन खर्च बढेको मात्र नभइ निरन्तर ३ सिफ्ट काम हुने उद्योगका ४ हजार श्रमिकहरूको रोजगारीबाटै बञ्चित हुनु पर्ने अवस्था बन्न पुगेको जनाएको छ । उद्योगका अनुसार मेसिनमा एक पटक पावर ट्रिपिङ हुँदा प्रोसेसिङमा रहेका सबै पदार्थ बिग्रिने र फेरि चालु गराउन आधा घण्टादेखि एक घण्टासम्म समय लाग्ने गरेको कम्पनीले बताएको छ । 

उद्योगले आफ्नो इपिएस घट्नुको मुख्य कारण नै विद्युत आपूर्तिमा हुने समस्यालाई मानेको छ । यदि नियमित विद्युत आपूर्ति हुने हो भने उद्योग पुर्णरूपमा सञ्चालन हुन सक्ने, मर्मत र सञ्चालनको खर्च कम हुने भई थप उत्पादन बजार पुर्याउन सक्ने कम्पनीको दाबी छ । 

२०८० माघदेखि २०८१ जेठसम्म दैनिक ८ देखि १२ घण्टासम्म अघोषित लोडसेडिङ भएको, भोक्राहा खनारको ३३ केबीको ट्रान्समिसन लाइनमा समस्या भएको भन्दै मर्मत गर्ने भन्दै विभिन्न समयमा विद्युत कटौति भएको उद्योगले गुनासो गरेको छ । 

नेपालको सबै भन्दा ठूलोे निर्यातकर्ता र रोजगारदाता मध्येको उद्योगकोरूपमा सरकार र गैरसरकारी क्षेत्रबाट पटक पटक सम्मानित हुँदै आएको रिलायन्सले विद्युत प्राधिकरणको बदनियतका कारण आफुहरूले दुख पाएको बताएको छ । 

देशको अर्थतन्त्र उकास्न भुमिका खेलिरहेको उद्योगमा विद्युत आपूर्तिमा खेलवाड गरि मनोबल घटाउन र हतोत्साहित बनाउन प्रपञ्च भइरहेको उद्योगको आरोप छ । यस्तो प्रवृतिले रिलायन्स स्पिनिङ मिल्सको इपिएस घट्ने मात्र नभइ सम्पुर्ण नेपाली उद्योग क्षेत्रमा नै त्रासको वातावरण बन्ने कम्पनीको भनाई छ । 

आर्थिक बर्ष २०७६–७७ मा उद्योगको इपिएस ११.९५ रहेकोमा आर्थिक बर्ष २०७७–७८ मा ५३.९१, आर्थिक बर्ष २०७८–७९ मा ६१.१२, आर्थिक बर्ष २०७९–८० मा ५४.३४ रहेको छ । चालु आर्थिक बर्ष २०८०–८१ मा आउँदा उद्योगको इपिएस घटेर २.०८ रहेको छ । दैनिक १६ घण्टासम्मको अघोषित लोडसेडिङ र न्यून स्तरको विद्युत आपूर्तिका बिच पनि विगत ८ महिनामा उद्योग नाफामा रहन सफल रिलायन्सले दुई अर्ब पच्चिस करोड भन्दा धेरै सञ्चित मुनाफा कमाउन सफल भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्