Nic Ad Nic Ad
Nic Ad Nic Ad

काम गर्ने खालको अफर नआएर ९ वर्ष फिल्म गरिनँ : रेजिना उप्रेती

मंगलबार, असार २५, २०८१

एनलगको जमानामा अभिनेत्री रेजिना उप्रेतीले करिब एक सय हाराहारी फिल्ममा काम गरिन् । त्यसमध्ये केही फिल्म व्यावसायिक रुपमा सफल पनि भए । तर, २०७० सालमा विवाह गरेर एक सन्तान भएपछि उनको अभिनय यात्रामा विश्राम लाग्यो । र, फिल्म क्षेत्रको माहोल पनि बदलियो । यसपछि चलचित्र कलाकार संघको राजनीतितिर लागेकी रेजिना उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष बनिन् । तर, कलाकार संघको अध्यक्षमा पराजित भएपछि उनी अभिनयमा फर्किएकी छन् ।

उनले झन्डै ९ वर्षको अन्तरालपछि पुनरागमन गरेको फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसमा उनको भूमिकाबारे खुलाइएको छैन । तर, दुई हप्ताअघि सार्वजनिक पोस्टर हेर्दा रेजिना गाउँले चरित्रमा रहेको प्रष्ट बुझिन्छ । उनी यो फिल्मलाई लिएर उत्साहित छिन् । ९ वर्ष फिल्म नगर्नुको कारण भने काम गर्ने खालको क्यारेक्टरबाट प्रस्ताव नआएको उनको भनाई छ ।

सोमबार ‘मोदीबेनी’को गीत सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘मैले ९ वर्षदेखि फिल्म गरिनँ । कलाकारिता भने मनमा थियो । काम गर्नुपर्छ भन्ने भइरहेको थियो । म राम्रो क्यारेक्टर र टिम पर्खिरहेको थिएँ । बीचमा अफर नआएको पनि होइन । तर, काम गर्ने खालको अफर नै आएन ।’ ‘मोदीबेनी’मा जोडिन भने रेजिनालाई टिम र कथाले आकर्षित गरेको रहेछ । ‘यो फिल्मको कथा र टिम हेरेपछि कमब्याकका लागि यो सही समय हो भन्ने लाग्यो । यो एकदमै जोशले भरिएको टिम हो । यो टिमको उर्जाले मलाई पनि कलाकारिता छोड्नु हुँदैन भन्ने महसुस भएको छ,’ उनले भनिन् । यो फिल्ममा काम गर्दा १५/२० वर्ष अगाडिको आफ्नो जोश सम्झना आएको रेजिना बताउँछिन् ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्