Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल श्रीलंका डेभलपमेन्ट टीमसँग पराजित

मंगलबार, असार २५, २०८१

काठमाडौँ- एसीसी महिला एसिया कप २०२४ को तयारीमा रहेको नेपाली टोली श्रीलंकामा भएको अभ्यास खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टीमसँग भएको खेलमा नेपाल ३३ रनले पराजित भएको हो ।

डेभलपमेन्ट टीमले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रनमात्र बनाउन सक्यो । निर्धारित २० ओभरमा डेभलपमेन्ट टीमले ११९ रन बनाएपछि खेल १५ ओभरमा झर्दा ९६ रनको लक्ष्य तय गरिएको थियो । नेपालका लागि रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रनको योगदान दिए । बलिङमा डेभलपमेन्ट टीमकी देवमी विहांगाले ३ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको डेभलपमेन्ट टीमले ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । डेभलपमेन्ट टीमका डुलानी र नुथियांगाले समान २७(२७ रन जोडे । बलिङमा नेपालका सवनम राईले ३ र राजमती ऐरीले १ विकेट लिए ।

यही जुलाई १९ मा सुरु हुने एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन् । समूह ‘बी’मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्