Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रालय बाँडफाँट भएको छैन, सरकारमा कांग्रेससँग समान हैसियत हुन्छ : ओली

बुधबार, असार २६, २०८१

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच मन्त्रालय पनि बाँडफाँटमा सहमति भइनसकेको बताएका छन् ।

बुधबार पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग मन्त्रालय बाँडफाँटबारे अहिले कुनै छलफल नभएको बताएका हुन्।

तर सरकारमा सबैलाई हैसियतको आधारमा स्थान दिने भन्ने विषमा भने सहमति भइसकेको ओलीले जानकारी दिए ।

‘मन्त्रालय बाँडफाँड भइसकेको छैन, यो पार्टीले यो मन्त्रालय, यो पार्टीले यो मन्त्रालय, को-को सरकारमा सामेल हुने, क-कसको स्थिति के–के हुने भन्ने टुंगिसकेको छैन’, उनले भने, ‘साधारणत: हैसियतको आधारमा सहभागी हुने हो । अहिलेलाई बराबरी हैसियतमा कांग्रेस र एमालेले सरकारमा व्यवहार गर्छन् ।’

संविधान संशोधनबारे के भने ?

उनले बैठकमा संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार परिमार्जन गर्दै जानुपर्ने बताएका छन् ।

तर संविधानका यी धार र यी विषयमा परिवर्तन गर्ने भन्नेबारे कुनै सहमति नभएको उनले प्रष्ट पारे ।

संविधान संशोधनको लागि कसैको नेतृत्वमा आयोग बनाउने भन्ने खालका सहमति पनि नभएको ओलीले बैठकमा जानकारी दिए ।

ओलीले एमाले र कांग्रेस बिचको समीकरण देशमा राजनीतिक स्थिरता र विकासको लागि गर्न लागिएको बताए ।

तर एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागे भन्ने खालको भ्रामक प्रचार गर्न खोजिएको प्रति ओलीको आपत्ति छ ।

एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ गयो भन्ने भ्रम फिँजाइएको ओलीले बताए ।

‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसतिर जान्छ, कहिले उसतिर, चार सिट छ उसलाई मुख्यमन्त्री चाहिने’, ओलीले भने ।

यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी स्वार्थ, दलगत स्वार्थलाई केन्द्र भागमा राखेर गतिविधि सञ्चालन गर्ने काम भएकामा उनले चिन्ता व्यक्त गरे ।

विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिविरुद्ध कांग्रेस-एमाले एक ठाउँमा आउनु परेको उनले प्रष्ट पारे ।

स्वार्थ प्रेरित भएर स्वार्थलाई बीच भागमा राख्ने काम भइरहेका भन्दै ओलीले चिन्ता व्यक्त गरे ।

‘ती कुरालाई कसरी रोक्न सहमति भएको हो । संघीयता बदनाम भइरहेको छ, त्यो बदनामी रोकेर त्यसलाई सफल बनाउन सकिन्छ, सकिँदैन, सफल बनाउने दिशामा लाग्नु पर्‍यो’, ओलीले भने ।

ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन नसक्ने उनले बताए ।

‘संविधान एउटा गतिशील दस्तावेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डोर्‍याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ’, उनले भने ।

त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको ओलीले प्रष्ट पारे । त्यसमा डिटेलमा पछि छलफल हुने उनले बताए । अहिले धेरै कुरा बजारमा आएको बताउँदै ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पारे ।

उनले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताए । सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उनले जोड दिए ।

उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रीकरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु जरुरी भएको ओलीले बताए । ‘उत्पादन वृद्धिका लागि पूर्वाधार वृद्धिमा ध्यान दिनु आजका आवश्यकता हुन्’, उनले भने ।

सडक, पूर्वाधार, विद्युत्, सञ्चार लगायतका क्षेत्रका आधारभूत काम भएका बताउँदै ओलीले अब शिक्षालाई बढी व्यवहारमुखी बनाउने तर्फ लाग्नु पर्नेमा जोड दिए । त्यस्तै कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्