Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले नागरिकता दिने

बिहीबार, असार २७, २०८१

काठमाडौँ- युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको छ । बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् ।

भारत गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ । १.३ करोड रुपैयाँ राहतमध्ये बाँकी रकम पछि दिने भनेका छन् । यसै महिनाको १५ वा २० तारिखमा बाँकी रकम पाउने आश छ ।’

अश्विन भाइ मांगुकियाका छोरा हेमिलको २१ फेब्रुअरीमा भएको मिसाइल आक्रमणमा मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । उनलाई एक एजेण्टले झुक्याएर त्यहाँ पुर्‍याएका थिए । एजेण्टले उनलाई रुसी सेनामा हेल्परको नोकरी दिलाउने आश्वासन दिएका थिए । तर हेमिललाई अरु भारतीय नागरिकहरूलाई जस्तै युक्रेनविरुद्धको लडाइँको अग्रमोर्चामा खटाइएको थियो ।

हेमिलका बुवा अश्विनले कपडा बजारमा मजदुरी गर्दछन् । उनले रुसको नागरिकता स्वीकार गर्ने पनि बताएका छन् ।

यसैगरी हैदरावादका मोहम्मद अफसानका दाजु मोहम्मद इमरानले पनि बीबीसी हिन्दीसँगको कुराकानीमा अफसानका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने भनेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार रुसको दुई दिने भ्रमणका लागि मस्को पुगेका थिए । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेर रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरूको सुरक्षाको विषयमा छलफल गरेका थिए ।

छलफलको क्रममा पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयहरूलाई फर्काउन सहमति जनाएको भारतीय मिडियाहरूले लेखेका थिए । अहिले फेरि युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई राहत र रुसको नागरिकता दिने प्रक्रिया सुरु भएको खबरले भारतमा चर्चा पाइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्