काठमाडौँ - दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने, आमा र बच्चाको ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो ।
वडाले साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य गरेको वडाध्यक्ष लिलाराम लम्सालले प्रशासनलाई जानकारी दिए । वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि अनेकौँ प्रयास गरे पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडाध्यक्ष लम्सालले बताए ।
‘हाम्रो वडामा अधिकांंश दलित र जनजाति समुदाय बस्छन् । धेरैले सानैमा बिहे गर्छन् । बाल विवाह गर्नुहुन्न भनेर कार्यक्रम गर्ने, स्कुलस्कुलमा पुगेर कतिलाई सम्झायौं र पनि भएन’, वडाध्यक्ष लम्साले भने, ‘वडाले नै केही निर्णय गरिदिएपछि कमी होला कि भन्ने हाम्रो लक्ष्य हो ।’
बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
