Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन दुर्घटनाका घाइते भन्छन् : बसमा मेरो परिवारका पाँच जना थियौँ, म मात्रै बाँचेँ

शुक्रबार, असार २८, २०८१

चितवन - काठमाडौंबाट वीरगन्ज जाँदै गरेको मध्यरातमा बस नदीमा खसेपछि जोगेश्वर राय, नन्दन दास र सुरज गुप्ता पौडी खेलेर बाँचेका हुन्। सुरज गुप्ता भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जनाएको छ। दुर्घटनामा बाँच्न सफल जोगेश्वर राय र नन्दन दास  भन्छन्।

काठमाडौंमा उपचार गरेर घर फर्कँदै गरेको बताउने जोगेश्वर रायले आफू चढेको गाडी एक्कासि हल्लिएको र चार पटक पल्टा खाएर खोलामा खसेको बताएका छन्। “त्यसपछि म पनि डुबेँ। पाँच(छ घुट्की पानी पिएँ,” उनले  भने। “त्यहाँबाट कसरी कसरी बाहिर निस्किएर म पौडी खेलेर किनारमा आएँ।”

पौडिएर नदी किनारमा पुगेपछि अँध्यारोमा छामछुम गरेर सडकसम्म आएको उनले सुनाएका छन्। रायका अनुसार उनीसँगै बसमा उनका छोरा,छोरी, नाति र नातिनी पनि थिए।“बसमा छोरा, जेठी छोरी, एक जना नाति र एक जना नातिनी थिए। पाँच जनामा म मात्रै बाचेँ,” रायले भने। घाइतेहरूका अनुसार उनीहरूलाई प्रहरीले त्यहाँबाट गाडी चढाएर अस्पताल पुर्‍याएको हो।

दुर्घटनामा बाँच्न सफल अर्का व्यक्ति रौतहटका नन्दन दासले मुग्लिनमा खाना खाएर बस अघि बढेको एक डेढ घण्टा पछि दुर्घटना भएको बताएका छन्।उनले माथिबाट पहिरो आएको र बस पल्टिएर नदीमा पुगेको बताए। नदीमा पुगेपछि झ्यालबाट बाहिर निस्किएर पौडिँदै किनारमा पुगेको उनले बताएका छन्।

“बच्ने हो भगवान्‌ले बचायो भनेर पौडी खेलिरहेको थिएँ। तर राति कहाँ पौडी खेलिरहेको थिएँ। भित्र जाँदै छु कि बाहिर आउँदै छु भन्ने पनि थाहा थिएन। तर किनारमै आइपुगेँ,” उनले भने। उनले पौडी खेल्दै जाँदा ढुङ्गा र त्यसपछि झाडी भेटिएको र झारहरू समातेर सडकमा निस्किएको बताए।“त्यसपछि पहाड चढ्न सुरु गर्‍यौँ, चढ्दै(चढ्दै माथि सडकमा आयौँ,” उनले भने। ८ घण्टामा उनले त्यहाँबाट आफूहरूलाई प्रहरीले अर्को बस चढाएर नारायणगढ पठाइदिएको बताएका छन्। “त्यतिबेला पानी पनि झमझम परिरहेको थियो,” उनले भने।

बस पल्टिएपछि आफूहरूलाई मरिन्छ भन्ने लागेको उनले सुनाए। “हामीलाई मर्न जाँदै छौँ भन्ने लागिरहेको थियो,” दासले सुनाए। दुई जना सँगै बाहिर निस्किएको र अर्को एक जना केही समयपछि बाहिर भेट भएको दासले बताएका छन्। उनले आफूले नदेखे पनि बाँचेका अरू साथीहरूले अर्को बस पनि खसेको आफूलाई सुनाएको बताए। पहिरोका कारण दुईवटा यात्रुवाहक बस सडकबाट त्रिशूली नदीमा खस्दा कैयौँ यात्रुहरू बेपत्ता भएको हुन सक्ने अधिकारीहरूले आशङ्का गरेका छन्। दुईवटा बसमा रहेको ठानिएका ६० जना भन्दा धेरैको खोजीमा सुरक्षा निकाय र गोताखोर परिचालन गरिएका छन्।

दुर्घटनामा परेका पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा कम्तीमा २१ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ४१ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताएका छन्। चितवनको सिमलतालमा भएको बस दुर्घटनामा तीन जना बाँच्न सफल भएको अधिकारीहरूले बताएका छन्।

स्रोत : बिबिसी न्युज

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्