Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेड एड्भाइजरी जारी भएका दिन र क्षेत्रमा रात्रीकालीन सवारी चलाउन रोक

शुक्रबार, असार २८, २०८१

काठमाडौं- सरकारले रेड एड्भाइजरी (बाढी पहिरोको उच्च जोखिम) जारी भएका दिन र क्षेत्रमा रात्रीकालीन सवारी संचालनमा रोक लगाउने भएको छ। 

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा शुक्रबार गृहसचिवको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।  

‘जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउनेछन्।’ संसदमा बोल्दै गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। 

 शुक्रबार बिहान नारायणगढ– मुग्लिन सडकमा आएको पहिरोले हुत्याउँदा दुई वटा यात्रु बाहक बस त्रिशुली नदीमा खसेर बेपत्ता भएपछि सरकारले यस्तो निर्णय गरेको हो। 

छलफलका क्रममा रेड जोनमा रात्रीकालीन बस नचलाउने, अनिवार्य टिकट लगायतका बारेमा छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले जानकारी दिए।

छलफलमा विपद व्यवस्थापनका लागि कोष बनाउने तथा सडक विभागले आफ्नो पूर्वाधार तयार गर्ने विषयबारे पनि चर्चा गरिएको छ । त्यसक्रममा गृह सचिव एक नारायण अर्यालले यात्रुलाई टिकट नकाटी यात्रा गराउने सवारीलाई मापसे गरी सवारी चलाएभन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन्।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्