Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुखद खबरको प्रतीक्षामा आफन्त

शुक्रबार, असार २८, २०८१

वीरगन्ज- पर्साको वीरगन्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका-२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि आफन्त तथा परिवारजन चिन्तामा छन् ।

बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१-०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए । स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताए । ‘हिजो रात्रिबस चढेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो, एक्कासि उहाँ चढेको बस पहिरोमा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ’, बसपार्कमा भेटिएका उनले भने, ‘काकासहित बसमा सवार सबै यात्रु सकुशल रहेको सुखद खबरको प्रतीक्षामा छौँ ।’ एञ्जल डिलक्स प्रा.लि. वीरगन्जका इन्चार्ज विनोदप्रसाद कलवारले बिहीबार काठमाडौँ प्रस्थान गरेको प्रदेश बसमा चालकसहित २४ जना रहेको बताए ।

‘बसको चलानमा चालक, सहचालक र सहयोगीसहित २४ जना रहेका छन् । हिजो हाँसी खुसी बिदाइ गरेका थियौँ । तर, पहिरोमा परेको सुन्दा निकै दुःखित भएका छौँ,’ उनले भने । कलावारकाअनुसार बसमा १७ नेपाली र सात भारतीय नागरिक रहेका थिए ।

बिहान नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । 

गौर आउँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्