Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएको सभामुखको पत्र शितल निवास पुग्यो

शुक्रबार, असार २८, २०८१

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएका कारण राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने भएको हो । प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेको पत्र संसद् सचिवालयबाट राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

शीतल निवास श्रोतले पत्र आइसकेको पुष्टि गर्दै राष्ट्रपति रामचन्द्र पौडेल अहिले संविधानविद्हरूसँग परामशर्मा रहेको जानकारी दिएको छ । पत्र पुगेसँगै कानुनी परामर्शपछि नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नेछन् ।


नयाँ सरकार गठनको प्रक्रियाबारे छलफल गर्न राष्ट्रपति पौडेलले शुक्रबार बेलुकी संविधान र कानुनविद्हरूलाई बोलाएर छलफल गरिरहेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपति पौडेललाई बिदाइ भेट गरेर बालुवाटर फर्किसकेका छन् । 

यससँगै राष्ट्रपति पौडेलले पदमुक्त भएका प्रचण्डलाई कार्यवाहक प्रधानमन्त्री तोकेर नयाँ सरकार गठनका लागि आह्वान गर्ने एक सांसदले जानकारी दिए ।

राष्ट्रपतिले सरकारका लागि आह्वान गरेलगत्तै बहुमत सांसदको हस्ताक्षरसमेत बुझाउने तयारीमा कांग्रेस-एमाले जुटेका छन् । राष्ट्रपतिले सांसदहरूको सक्कलै हस्ताक्षर माग्न सक्ने सम्भावनालाई ख्याल गर्दै दुई दलले यस्तो तयारी गरेका हुन् ।

ती सांसदका अनुसार राष्ट्रपति पौडेलले २–३ दिनको समय दिएर संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्छन् ।

धारा ७६ (२) मा ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ उल्लेख छ ।

तर, कतिपय संविधानविद् र प्रचण्डको दल नेकपा माओवादी केन्द्रका नेताहरूले संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुने बताउँदै आएका छन् ।

धारा ७६ (३) मा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

प्रतिनिधिसभा बैठकमा विश्वास गुमाएपछि पदमुक्त भएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेटका लागि राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेर फर्किसकेका छन् ।

संसद्मा विश्वासको मत नपाएलगत्तै उनी शीतल निवास पुगेका थिए । प्रतिनिधिसभा बैठकमा शुक्रबार उपस्थित २५८ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले ६३ सांसदको मात्रै समर्थन पाएका थिए ।

उनको प्रस्तावको विपक्षमा १९४ मत परेको थियो भने उपस्थित सांसदमध्ये १ जना तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्