Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

सत्ता छाड्नुपर्दा बेचैन रवि

शनिबार, असार २९, २०८१

काठमाडौं– पहिलो पटक गृहमन्त्री पद र सांसद नै खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्राङ्गणमा पत्रकार सम्मेलन गरी मिडियामाथि कुर्लेका रवि लामिछाने दोस्रो पटक पद गुम्दा संसदको पोडियममा कुर्लिने कोशिश गरिरहेका थिए। 

आफ्नै पार्टीको पृष्ठभूमीबाट आएकी उपसभामुखले समयको पावन्दी नलगाएको मौका उनले लुट्न नखोजेका होइनन्। तर, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नियमापत्ति गर्दै सोधे,‘उहाँ विश्वासको मतको पक्ष र विपक्षमा मत राख्न आएको रास्वपाको नेता कि सरकारको कामकारबाहीको फेहरिस्त सुनाउन आएको गृहमन्त्री हो?’

अनि, लामिछानेले कुर्लिने समयलाई छोट्याएर पोडियम भएको स्थानबाट ओर्लिए। 

जब शक्ति र सत्ता हातबाट उम्किन्छ, रवि बेचैन देखिन्छन्। यो व्यहोरा शुक्रबार संसद भवनमा उनले देखाएका हुन्। त्यसको उत्तर दिँदै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने,‘बेचन झाको ब्रान्डिङ नगर्नुस्। सत्ता गुम्दाको पीडा नसुनाउनुस्। जीबी राई खोई? पक्राउ गर्नुभयो? अझै समय छ।’

शाहीले यतिमात्र भनेनन् थपे,‘यो सदनको सदस्य र उपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ भएका होइनन्? सत्ता ढल्यो र? अहिले बेकारको ब्रान्डिङ गर्नुहुन्छ।’

‘बरु भन्नुस् दुईटा ठूला नेता मिले, हामीले सत्ता छाड्न पर्ने भयो। उनीहरूको स्वार्थ मिल्यो।’

शाहीको भनाईले पनि रवि सत्ता आशक्तिका नयाँ आयाम रहेको पुष्टि गर्दछ। ‘सरकारमा जान हुँदैन भनेको हो। पार्टी बिग्रियो भनेको हो। तर उहाँले सुन्नुभएन’, रास्वपा पूर्वमहामन्त्री मुकुल ढकालले भनेका छन्,‘पार्टी होइन सत्तामा जाने र क्लब चलाउने काम मात्र भयो। प्रहरीका आईजीलाई दोष दिने आफू बच्ने काम रविले गरिरहेका छन्।’

रविसँग यो आशक्ति रहेको प्रमाण यति मात्र होइन। उनका दाजुसमेत रहेका मिडियाकर्ममा ३५ बर्ष बिताएका हरिशरण लामिछानेले भनेका थिए,‘भुत्राको ०८४ भनेको अहिले गर्नु नि। शक्तिमा पुग्ने लोभ छ, यसमा।’

आम टिप्पणीकर्ताले यहाँभन्दा बढी उदाहरण दिन आवश्यक नै छैन। जसका आफ्नै दाजु र संस्थापक महामन्त्रीले यस्तो अभियोग लगाइरहेका छन्, यसले लामिछानेको आशक्तिलाई पुष्टि गर्छ। 

सत्ता मोह नहुने भए जनताले प्रतिपक्षमा बस्न दिएको जनमतलाई पहिलो पटक एक महिना र दोस्रो पटक चार महिनाका लागि परम्परागत राजनीतिक पार्टीको काखमा चढाउने थिएनन्। सत्ता, शक्ति र महत्वकांक्षामा रवि लामिछाने पर्यायका रुपमा प्रमाणित भइसकेका छन्, झूठो कुरा र कुतर्क नगरे हुन्छ। 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्