Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

शनिबार, असार २९, २०८१

चितवन - चितवनको भरतपुर-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो ।

नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव शनिवार बिहान भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएको थियो । प्राप्त कागजातको आधारमा शब भारतीय नागरिक ऋषि पल साहको रहेको खुलेको थियो । ‘साह नेपालमा बसेर काम गर्ने गरेको उनका दाई सत्यपाल शाहले बताएका छन । शब भाई ऋषि पलको नै रहेको उनले पुष्टि गरेका छन । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ बर्षिय साह काठमाडौंको जोरपाटीबाट गौर जानका लागि बस चढेका थिए ।

काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रुको खोजीकार्य तीब्र पारिएको छ ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्