Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेपत्ता बस र यात्रुको खोजीमा सबै जनशक्ति र प्रविधि प्रयोग गरेका छौं : गृह सचिव अर्याल

शनिबार, असार २९, २०८१

काठमाडौं- गृहसचिव एकनारायण अर्यालले त्रिशूलीले बगाएका दुई वटा बस र यात्रुको खोजबिनका लागि सरकारले सबै शक्तिको प्रयोग गरेको बताएका छन्।​​​

गोताखोरका साथै प्रविधिसहित त्रिशूली नदीमा टोली खटाएर बेपत्ता यात्रुको खोजबिन गरिरहेको उनले लोकान्तरलाई जानकारी दिए । चितवनस्थित सिमलतालमा शुक्रबार बिहान दुई वटा बस लेदोसहितको बाढीसँगै त्रिशूलीमा खसेका थिए 

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका- २९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतहटको सदरमुकाम जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो ।

सचिव अर्यालका अनुसार वीरगन्जबाट हिँडेको बसमा २४ जना यात्रु थिए भने गौर जाँदै गरेको बसमा २७ यात्रु सवार रहेका बस काउन्टरको चलानमा उल्लेख छ। 

शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य गरे पनि अहिलेसम्म दुई जना यात्रुको शव फेला पर्नेबाहेक अरु केही भेटिएको छैन ।

बसको टिकट काउन्टरले जारी गरेको चलानअनुसार यात्रुको किटान गरे पनि अहिलेसम्म दुवै बसमा कति यात्रु सवार थिए र उनीहरू कहाँका थिए भन्ने पूरै विवरणसमेत सार्वजनिक हुन सकेको छैन । ​

साँघुरो नदी र धमिलो पानीका कारण बेपत्ता यात्रु र बसको अवस्था थाहा पाउन नसकेको अर्याल बताउँछन्। वर्षाका कारण त्रिशूली नदीको तीव्र बेगका कारण गोताखरले जोखिम मिलेर नदीभित्र छिरेर बस र बेपत्ता यात्रुको खोजी गरिरहेका छन्।

आज बिहान गोलाघाटमा भेटिएको ऋषिकेश साहको सब परिवारले सनाखत गरिसकेको जानकारी अर्यालले दिए। अर्को शवको सनाखत हुन बाँकी रहेको उनको भनाइ छ ।

नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब ५०० जनाको सुरक्षा फौज घटनास्थलमा खटिएको अर्यालले जानकारी दिए। उनले भने, 'हामीले अहिले राज्यसँग उपलब्ध स्रोत साधनको प्रयोग गरेर बेपत्ता यात्रु र बसको खोजी गरिरहेका छौं ।'

त्रिशूलीमा बस खसेको ४० घण्टा बितिसकेको छ । ५०० सुरक्षा फौज परिचालन गरिएको भए पनि अहिलेसम्म दुई वटा शव फेला परेको छ ।  बस र अन्य बेपत्ता यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्