Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिशूलीमा बेपत्ता बस आज पनि भेटिएन, भोलि बिहान ७ बजेबाट पुनः खोजिने

शनिबार, असार २९, २०८१

चितवन -पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। आज (शनिबार) साँझ भइसकेकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ। मौसम अनुकूल भए भोली (आइतबार) बिहान ७ बजेबाटै पुनः खोजी कार्य गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए।

‘हालसम्म ३ जनाको शव फेला परेको छ। आज साँझ भइसकेकाले खोजी कार्य स्थगित गरेको उनले बताए । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ५२ जना सवार रहेको बताइएको छ।


तीमध्ये तीन जना पौडिएर ज्यान बचाउन सके भने शनिबार तीन जनाको शव भेटिएको छ। तीन मध्य दुई जनाको सनाखत भइसकेको छ। एकको सनाखत हुन बाँकी छ। अरु यात्रुको घटना भएको यत्रो समयसम्म पनि अत्तोपत्तो छैन। बस खसेको स्थानमा बस खसेको कुनै निशाना छैन।


बस खसेको ठाउँमा नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिम प्राप्त सुरक्षाकर्मीहरुले आफूसँग उपलब्ध प्रविधिको सहयोगले खोजी गरे पनि अहिलेसम्म कुनै प्रगति हात परेको छैन। सेना तथा सशस्त्र प्रहरीका गोताखोरहरु पटक(पटक नदीमा पस्ने, भित्र गएर हेर्ने प्रयास गरे। तर कुनै उपलब्धि हासिल भएन।

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्