Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली आज चौथोपटक प्रधानमन्त्री बन्दै

आइतबार, असार ३०, २०८१


काठमाडौं – प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्।

samridhi jewllers

एमाले अध्यक्ष केपी ओली आइतबार चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै छन् । सरकार गठनका लागि दिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका हुन् । शुक्रबार नै एमाले र कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको दाबी पेस गरेका छन् । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आइतबार साँझ समयसीमा सकिएपछि मात्रै नियुक्ति र शपथको प्रक्रिया अगाडि बढाउने तयारी छ । ‘राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान गर्नुभएको समयावधि सकिएपछि मात्र प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । ओलीनिकट स्रोतका अनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण हुनेछ । ‘आइतबार नियुक्ति हुन्छ, सोमबार विहान ११ बजे शपथग्रहणको जानकारी पाएका छौँ, त्यसैअनुसार तयारीमा छौँ,’ स्रोतले भन्यो । 

यसअघि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका ओलीको शपथ आइतबार हुने भनिएको थियो । तर, नियुक्तिमा ढिलाइ भएपछि सोमबार शपथको समय निर्धारण गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच आलोपालो प्रधानमन्त्रीसहितको सहमति भएको छ । तर, सहमतिपत्र भने अझै सार्वजनिक भएको छैन । 

एमालेले सोमबार मात्रै मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने भएको छ । शनिबार एमाले अध्यक्ष ओलीले सचिवालय सदस्यहरूसँग मन्त्रीहरूको विषयमा छलफल गरेका थिए । सांसदहरूलाई ओलीले नियुक्तिको एक घन्टाअघि मात्रै मन्त्रीको नाम टुंगो लाग्ने बताएका थिए । ‘आइतबार साँझ पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनुहुन्छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुन्छ । सोमबार नै मन्त्री बन्ने सदस्यको टुंगो लाग्छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । 

एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । प्रधानमन्त्रीको शपथलगत्तै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी ओलीको छ । पदाधिकारीसहित युवालाई पनि प्राथमिकता दिने तयारीमा ओली रहेको गौतमले बताए । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्