Nic Ad Nic Ad
Nic Ad Nic Ad

२०६३ यता १७ सरकार बनेका थिए, को कति पल्ट प्रधानमन्त्री बने?

आइतबार, असार ३०, २०८१

काठमाडौं– २०६२–६३ को आन्दोलन जसलाई जनआन्दोलन २ समेत भनेर चिनिन्छ त्यसयता १७ वटा सरकार बनेका छन्। १९ बर्षमा १७ सरकार गठन गर्ने नेपाल अस्थिर राजनीति भएको मुलुकका रुपमा परिचित छ। 

०६३ देखि ०६५ सम्म पहिलो संविधान सभाको निर्वाचन गराउने सरकारका प्रधानमन्त्री नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला थिए। उनी त्यसबेला प्रधानमन्त्रीसहित राष्ट्र प्रमुखको हैसियतमा समेत रहेका थिए। 

संविधान सभाको पहिलो निर्वाचनमा नेकपा माओवादी केन्द्र व्यवस्थापिका संसदको समेत पहिलो दल बन्यो। गणतन्त्र घोषणा गर्दा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए। उनलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भनिन्छ। त्यसयता उनी ०७३ मा दोस्रो पटक नौ महिनाका लागि प्रधानमन्त्री बनेका थिए भने ०७९ सालमा तेस्रो पटक बने। 

हालै मात्र कांग्रेस–एमालेको गठबन्धन बनेपछि विश्वासको मत मागेका प्रचण्ड पदमुक्त बनिसकेका छन्। नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार नियुक्ति पाउने र सोमबार शपथ ग्रहणको तयारी छ।

माओवादी सत्ता राजनीतिमा आएपछि राजनीति निक्कै तरल देखियो। प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणमा प्रचण्डले राजीनामा दिएपछि २०६६ सालमा कांग्रेसलगायतको समर्थनमा एमालेका नेता हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बनेकमा थिए। उनले नौ महिनामा राजीनामा दिए पनि अर्को लामो समयसम्म कामचलाऊ प्रधानमन्त्रीका रुपमा काम गरेका थिए। 

नेपालको राजीनामापछि प्रचण्डसँगको सहकार्यमा एमालेका तत्कालिन अध्यक्ष तथा हाल एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल २०६७ सालमा प्रधानमन्त्री निर्वाचित भएका थिए। उनी, ६ महिनामा नै पदच्युत हुन पुगे। 

prachanda-and-deuba-(1)---2024-07-03T120817.357-1719992278.jpg
 

सत्ता राजनीतिमा केन्द्रमा रहेको माओवादी र मधेसवादीको सहकार्यमा डा. बाबुराम भट्टराई २०६८ सालमा प्रधानमन्त्री बने। उनको कार्यकाल निक्कै नै स्मरणलायक छ। किनकी, भट्टराई प्रधानमन्त्री रहेका बेला नै पहिलो संविधानसभा विघटन भएको थियो। 

यसपछि प्रधानन्यायाधीश समेत रहेका खिलराज रेग्मीलाई दोस्रो संविधानसभाको निर्वाचन गराउने दायित्वसहित २०६९ सालमा प्रधानमन्त्री नभने पनि मन्त्रिपरिषदको अध्यक्षका रुपमा राजनीतिक सहमति भयो। र उनले एक बर्षभित्र निर्वाचन गराउनेगरी सरकारको पनि नेतृत्व हातमा लिए।

दोस्रो संविधानसभा निर्वाचनपछि भने सरकारको नेतृत्व ठूलो दल बनेको नेपाली कांग्रेसले लियो। कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला एमालेको समर्थनमा २०७० सालमा प्रधानमन्त्री निर्वाचित भए। यो, नै लोकतन्त्र प्राप्ति यता सदनका दुई ठूला दलको गठबन्धनको सरकार थियो भने तेस्रो हैसियतको माओवादी प्रतिपक्षमा बस्न बाध्य भयो। 

संविधान जारी भएपछि भने एमाले अध्यक्ष ओली पहिलो पटक २०७२ सालमा प्रधानमन्त्रीमा निर्वाचित भए। उनी माओवादीको समर्थनमा नौ महिने सरकारको प्रधानमन्त्री बन्न पुगेका थिए। 

उनले २०७४ र २०७८ सालमा पनि प्रधानमन्त्री पदमा नियुक्ति पाएका थिए।

यसरी निरन्तर सरकार बन्ने र भत्किने खेलले अस्थिर राजनीति चलिरहेको छ भने जनता पनि निराश हुन थालेका छन्।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्