Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेस्सी अर्जेन्टिनाबाट सातौं फाइनल खेल्दै

आइतबार, असार ३०, २०८१

एजेन्सी – स्टार फरवार्ड लियोनेल मेस्सीले आफ्नो राष्ट्र अर्जेन्टिनाको सिनियर टोलीबाट सोमबार बिहान सातौं फाइनलको रुपमा कोपा अमेरिका २०२४ मा कोलम्वियासँग प्रतिस्पर्धा गर्दैछन् ।

अर्जेन्टिना र कोलम्वियाबीको खेल अमेरिकाको हार्ड रक स्टेडियम मियामी फ्लोरिडामा नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजेपछि हुनेछ । सुरुवाती चार फाइनल गुमाएका मेस्सी यसपटक पनि च्याम्पियन बन्दै राष्ट्रिय टोलीबाट ह्याट्रिक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।

क्लब फुटबलमा दर्जनौं उपाधि चुमिसकेको मेस्सीले सिनियर राष्ट्रिय टोलीबाट पहिलोपटक सन् २०२१ को कोपा अमेरिकाको उपाधि जितेका थिए । त्यसको एक वर्षपछि मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले एसियाली राष्ट्र कतारमा भएको फिफा विश्वकपको उपाधि जित्न सफल भयो । जुन मेस्सीको पहिलो कोपा अमेरिका र फिफा विश्वकप उपाधि थियो ।


मेस्सीले अर्जेन्टिनाको उमेर समूहबाट फिफा युथ विश्वकप (यु–२०) र यु–२३ मा ओलम्पिक गेम्समा स्वर्ण जितेका थिए ।

त्यसबाहेक मेस्सीले सन् २०२२ मै दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) र युरोपियन फुटबल फेडेरेसन (युइएफ) को संयुक्त आयोजनामा भएको फाइनालिसिमाको उपाधि जिते । त्यो कोपा अमेरिका र युरो कपको च्याम्पियनबीचको फाइनल थियो ।

सुरुवाती फाइनलमा लगातार चुकिरहेको कीर्तिमानी ८ पल्टको बालोन डि ओर विजेता ३७ वर्षीय मेस्सीले पछिल्लो फाइनलमा भने निराशा भोग्नुपरेको छैन ।

मेस्सी सन् २००७ मा पहिलोपटक कोपा अमेरिकाको फाइनल खेल्दा ब्राजिलसँग ३–० ले पराजित भएका थिए । त्यसपछि मेस्सीले सन् २०१४ को विश्वकपको फाइनल खेल्दा जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै निराश बन्नुपरेको थियो ।

त्यसपछि सन् २०१५ को कोपा अमेरिका र सन् २०१६ को कोपा अमेरिकामा चिलीसँग नै टाइब्रेकरमा पराजित भएपछि मेस्सीले एक्कासी अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यासको घोषणा गरेका थिए । पछि सन्यास फिर्ता लिदै उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए ।

त्यसपछि खेलिएको दुई फाइनलमा भने मेस्सीले निराश भोग्नु परेन । खेलिएको दुवै फाइनलमा उनले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई च्याम्पियन बनाए । अर्जेन्टिना र कोलम्विया दुवै अपराजित रहँदै फाइनलमा पुगेका टोली हुन् । यि दुई टोलीबीचको फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

सन् २०१४ को फिफा विश्वकपको गोल्डेन बुट विजेता हामेस रोड्रिग्वेजले यसपालीको कोपामा अमेरिकामा सानदार प्रदर्शन गरेका छन् । गत नोभेम्वरमा भएको विश्वकप छनोटमा उरुग्वेसँग २–० ले पराजित भएयता अर्जेन्टिना अपराजित छ । जसमा ९ जित र एक बराबरीको नतिजा छ ।

यता २०२२ मा भएको विश्वकप छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता कोलम्विया पछिल्लो २७ खेलमा अपराजित छ । जसमा २१ जित र ६ बराबरीको नतिजा छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी मियामी जाने निश्चित
बिहीबार, जेठ २५, २०८०

मेसी साउदी जाने पक्का
शुक्रबार, जेठ १९, २०८०

मेसी २ साताका लागि निलम्बनमा 
बुधबार, वैशाख २०, २०८०