Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसदको घरबाट उद्दार गरिएकी बालिकालाई बुबाआमाको जिम्मा लगाएर पढ्ने व्यवस्था मिलाउन आदेश

आइतबार, असार ३०, २०८१

काठमाडौँ- सर्वोच्च अदालतको पूर्ण इजलासले प्रदेश सांसदको घरबाट उद्दार गरिएकी बालिकालाई बाबुआमाको जिम्मा लगाउन र उनलाई काठमाडौँमै बसेर पढ्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकालाई आदेश जारी गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले काठमाडौँ महानगरपालिकाले बालिका उद्दार गरेको घटनालाई कानुनसम्मत ठहर्‍याउँदै उनलाई बाबुआमाको जिम्मा लगाउन आदेश दिएको हो । संयुक्त इजलासमा दुई न्यायाधीश डा. कुमार चुडाल र सुनिल पोखरेलबीच राय बाझिएपछि बालिका उद्दार जोडिएको विषय सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको थियो ।

नाबालिकालाई संरक्षण गृहमा राख्ने कि अभिभावकको जिम्मा लगाउने भन्ने विषयमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाझिएको थियो ।

काठमाडौँ महानगरपालिकाले घरेलु कामदारका रूपमा राखिएकी ती नाबालिकालाई लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्दार गरेको थियो ।

महानगरपालिकाले उनलाई संरक्षण गृहको जिम्मा लगाएको थियो । नाबालिकाको उद्दारपछि उनका बाबुले आफूले छोरी लैजान खोजे पनि महानगरपालिकाले अनुमति दिएको थिएन ।

आफ्नो छोरी जिम्मा लिन पाउनुपर्ने भनी बालिकाको बाबुआमाले काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।

तीन सदस्यीय पूर्ण इजलासले यसअघिका दुई न्यायाधीशको रायभन्दा फरक आदेश गरेको हो । उसले बालिकालाई उद्दार गरी संरक्षण गृहमा पठाउने महानगरपालिकाको निर्णयलाई संविधान र कानूनसम्मत भनेको छ ।

साथै बालिकालाई बाबुआमासँग भेट्न दिनुपर्ने भनी पूर्ण इजलासले बालिकाको इच्छाअनुसार नै काठमाडौंमा बसेर पढ्न पाउनुपर्ने व्यवस्था मिलाउन आदेश दिएको हो ।

गरिबीका कारण पढ्न पठाउने उद्देश्यले नै बाबुआमाले छोरीलाई काठमाडौँ पठाएको र त्यो कामलाई छोरी परित्याग गरेको अर्थमा बुझ्न नहुने भन्दै सर्वोच्च अदालतले उनलाई बाबुआमाको जिम्मा लगाउन आदेश दिएको हो ।

बालिकाले काठमाडौँमै बसेर पढ्न खोजेको भन्दै सर्वोच्च अदालतले उनको पठनपाठनको व्यवस्था मिलाउनसमेत काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाको नाममा जारी भएको आदेशमा भनिएको छ, ‘बालिकालाई भावनात्मक रूपमा नै बाबुआमासँग पुनर्मिलन हुने र परिवारबाट अलग भएको महसुस हुन नदिने गरी काठमाडौँमै बसी शिक्षादीक्षा, पालनपोषण तथा उचित हेरचाहको सम्बन्धमा बालिकाको बाबुआमासँगको समझदारीमा नै आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउनू ।’

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्