Nic Ad Nic Ad
Nic Ad Nic Ad

टेस्टिङ रिपोर्ट वेबसाइटमा राख्न सतर्कता केन्द्रको निर्देशन

आइतबार, असार ३०, २०८१

काठमाडौँ- राष्ट्रिय सतर्कता केन्द्रले टेस्टिङ रिपोर्ट वेबसाइटमा राख्न नेपाल गुणस्तर तथा नाप तौल विभागलाई निर्देशन दिएको छ ।

टेस्टिङ रिपोर्ट विभागको वेबसाइटमा राख्दा निर्माण व्यवसायी तथा उपभोक्ताहरूलाई गुणस्तरीय बस्तुको छनौट गर्न सहज तथा निर्माण कार्यमा गुणस्तरीयता कायम हुने भन्दै सतर्कता केन्द्रले यस्तो निर्देशन दिएको हो ।  निर्माण सामाग्रीहरूको निरीक्षण क्रममा नमुना जाँच हुँदा जाँच भएको मितिसमेत उल्लेख गरी विस्तृत ब्यहोरासहितको टेस्टिङ रिपोर्ट विभागको वेबसाइटमा राखी सार्वजनिक गर्दा निर्माण व्यवसायी तथा उपभोक्ताहरूलाई गुणस्तरीय बस्तुको छनौट गर्न सहज तथा निर्माण कार्यमा गुणस्तरीयता कायम हुने र उत्पादकहरूमा समेत गुणस्तरीय वस्तु निर्माणमा प्रतिस्पर्धा हुने हुँदा टेस्टिङ रिपोर्टलाई वेबसाइटमा राख्ने व्यवस्था मिलाउन सतर्कता केन्द्रले निर्देशन दिएको हो ।

विभाग वा शाखा अन्तर्गत क्यालिब्रेशन प्रयोगशालामा मौजुदा रहेका तर सञ्चालनमा नरहेका कम्प्रेसिङ स्ट्रेन्थ टेस्टिङ मेसिन तथा जस्ता फ्रोर्ससँग सम्बन्धित उपकरणहरूलाई सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन, प्रुभिङ रिङ क्यालिब्रेशन कार्य अति आवश्यक भएको हुँदा क्यालिबेटरको खरिद प्रक्रिया कार्यलाई यथाशीघ्र अगाडि बढाउने तथा मौजुदा संरचनाबाट सम्भव भएसम्म उक्त सेवा यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि विभागलाई सतर्कता केन्द्रले निर्देशन दिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बोर्धाथ गरेको पाँच बुँदे निर्देशनमा स्थलगत रूपमा नापतौल यन्त्र जाँच/क्यालिब्रेशन गर्न जाँदा सेवाग्राहीबाट नियमानुसार पाउने सुविधालाई पारदर्शी बनाउन र नापतौल यन्त्रमा लगाउने सिल छाप दुरुस्त ठिक हुँदाहुँदै नापतौल यन्त्रमा कुनै किसिमका अनुचित कार्य गरेको पाइएमा नाप जाँच/सिल छाप गर्ने कर्मचारीलाई आवश्यक जिम्मेवार बनाई आवश्यक कारबाही गर्न र सिल छाप बिगारेर कुनै किसिमका अनुचित कार्य भए गरेमा व्यवसायीलाई जिम्मेवार बनाई आवश्यक कारबाही गर्न भनिएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्