Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलताल पहिरोः चितवनका दुई युवा फोटोग्राफर अस्ताए त्रिशूलीमा

सोमबार, असार ३१, २०८१

चितवन - सिमलताल बस दुर्घटनामा चितनवका दुई युवाहरु पनि परेको पुष्टि भएको छ । उनीहरुको शवको सनाखत भइसकेको छ । बिहेमा फोटो/भिडियो खिच्न भनि काठमाडौँ जाँदै गरेका उनीहरु सिमलताल पहिरोमा परी त्रिशूली नदीमा अस्ताए ।

माडी नगरपालिका–१ बस्ने २२ वर्षीय विकास परियारको शव गैंडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा फेला परेको हो भने भरतपुर महानगरपालिका–२२ पदमपोखरीका २३ वर्षीय सुदिप विकको शव भारतको वाल्मीकि नहरमा फेला परेको हो ।

गत शुक्रवार काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको आज चार दिन भयो ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा चितवनका ती दुई युवा पनि चढेका थिए । बिहीवार राति बस चढेका उनीहरु शुक्रवार बिहान दुर्घटनामा परे । काठमाडौंमा एउटा बिहेको फोटो/भिडियो खिच्नका लागि उनीहरुले जिम्मा पाएका थिए ।

व्यवसायीक रुपमा फोटोग्राफी गर्ने सोँचले सुदिपले आफ्नो मोटरसाइकल बेचेर क्यामरा किनेका थिए । विकास र सुदिप दुर्घटनामा परेको थाहा पाएपछि उनीहरुका आफन्तहरु घटनास्थलमा पुगेका थिए । उनिहरुको अकालमै मृत्यु भएपछि परिवार र आफन्त शोकमा छन ।

सुदिप र विकाससँगै त्रिशूलीमा कम्तिमा ६२ जना यात्रु बेपत्ता भएका छन् । ६२ मध्ये १२ जनाको शव फेला परेको छ भने सात जनाको मात्रै सनाखत भएको छ । वाल्मीकि नहरमा चार, नवलपरासीको सुस्ता र मध्यविन्दुमा एक/एक, भरतपुर–२८ गोलाघाटमा दुई, भरतपुर–२६ सिसुवारमा एक र गैंडाकोट–७ गैरीस्थित नारायणी नदीमा तीन जनाको शव फेला परेको हो ।


 

प्रतिक्रिया दिनुहोस्