Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी-पहिरोमा परी हालसम्म ११३ जनाको मृत्यु

सोमबार, असार ३१, २०८१

काठमाडौँ- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय १९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ५ वटा घर, ७८ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ३९ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ३० घरपरिवार विस्थापित भएका छन् ।

बाढी, पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले गरिरहेको छ ।

  •  

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्