Nic Ad Nic Ad
Nic Ad Nic Ad

झण्डै ५५ लाख रुपैयाँ घुससहित दुई जना कृषि प्राविधिक रंगेहात पक्राउ

मंगलबार, साउन १, २०८१

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगद र चेकगरी झण्डै ५५ लाख रुपैयाँ घुस रकमसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको हो ।
धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनले पक्राउ परेकाहरूको साथबाट नगद चार लाख १२ हजार रुपैयाँ र ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरेको जानकारी दिए । धामीद्वयको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक बरामद भएको छ । यस्तै अशोक सिंह धामीको नाममा काटिएको पाँच लाख (२ लाख ५० हजारको दुई वटा) को चेकसमेत गरी कुल ५० लाख ६० हजारको चेक बरामद भएको उनको भनाइ छ । अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्