Nic Ad Nic Ad
Nic Ad Nic Ad
परिक्षामा कांग्रेस

सजिलो छैन गृहमन्त्री रमेश लेखकलाई, प्रमुख तीन कारण छन्

मंगलबार, साउन १, २०८१

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा छन्, कांग्रेस नेता रमेश लेखक। 

मृदुभाषी र बुँदागत रुपमा आफ्ना तर्क राख्ने शालिन शैलीका लेखकका लागि अहिलेको सन्दर्भमा गृह मन्त्रालयको नेतृत्व सहज र सजिलो भने छैन। 
यसका प्रमुख तीन कारण छन्। 

पहिलो, सहकारी ठगी प्रकरणमा फरार रहेका भनिएका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परिसकेका छैनन्। उनीसँग जोडिन्छन् निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने। 

लेखक उनै हुन् जसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा लामिछाने गृहमन्त्री भएपछि सहकारी प्रकरण छानबिनको आवाज पार्टीका तर्फबाट उठाए। कांग्रेस प्रमुख सचेतकका हैसियतमा उनले उठाएको प्रश्नका कारणले नै केही समयसम्म प्रतिनिधि सभा बैठकमा कांग्रेसको अबरोध रहेको थियो। 

सत्ता समीकरण बदलिएसँगै अब उक्त जिम्मेवारी कांग्रेसको हातमा छ। त्योभन्दा पनि प्रमुखचाहिँ लेखक स्वयम्को जिम्मेवारीको विषय बनेको छ। यसमा मलेसिया सरकार वा दुबई सरकारले सहजीकरण नगरे जीबी राई पक्राउ गरी नेपाल ल्याउन कठिन हुनेछ। यो चुनौति उनका सामु छ। 

दोस्रो, कांग्रेस प्रतिपक्षमा रहँदा सरकारमा रहेको एमालेको नीतिगत निर्णयमा भएको गिरीबन्धु चियाबगान घोटालाको विषय उठाएको थियो। त्यसको छानबिनका लागि सरकार अगाडि नबढेको आरोप महामन्त्री गगन थापाले लगाएका थिए। 

अहिले एमालेसँगै सत्ता सहकार्यमा रहेको कांग्रेसका लागि यो छानबिन प्रकरण सुरु नगरे सहज हुनेछैन। प्रतिपक्षले सदनमा यी विषयमा सरकार र गृहमन्त्री लेखकमाथि बारम्बार प्रश्न उठाउने ‘स्पेश’ पाउँछन्। अझ, चाहेको खण्डमा कांग्रेस जसरी नै सदन अवरोध समेत गर्ने सुविधा प्रतिपक्षी दलसँग छ। 

स्मरणीय छ, प्रतिपक्षमा रहेको माओवादीले कुनै बेला सदनमा कुर्सी समेत भाँचेका थिए भने अर्थमन्त्रीको ब्रिफकेश समेत खोसिएको थियो। आक्रामक प्रतिपक्षीको सामना गर्ने कि गिरीबन्धुको फाइल पल्टाउने भन्ने लेखकका निम्ति चुनौतिको विषय बन्नेछ। 

तेस्रो तथा अन्तिमचाहिँ नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन निचोडमा लैजाने काम। यसमा कांग्रेसका पूर्वगृहमन्त्री तथा नेता बालकृष्ण खाँण पूर्पक्षमा बसेर निस्किसकेका छन्। एमाले सचिव टोपबहादुर रायमाझी अझै पूर्पक्षका लागि थुनामा नै छन्। 

खासमा यहि प्रकरणको छानबिनका क्रममा बेचन झा पक्राउ गरिएपछि सत्ता समीकरण फेरिएको भन्ने आरोप निवर्तमान प्रधानमन्त्री प्रचण्ड र निवर्तमान गृहमन्त्री लामिछानेले आरोप लगाएका थिए। यसलाई निचोडमा लग्ने या नलग्ने भन्ने विषयको चुनौति लेखकका सामु छ। गृहमन्त्रीका हैसियतमा उनले यस प्रकरणलाई निचोडमा लग्न सजिलो छैन। 

किनभने हालको प्रतिपक्षको दाबीअनुसार यस प्रकरणमा कांग्रेस नेत्री तथा परराष्ट्रमन्त्री आरजु राणासम्म पुग्न सक्ने स्थिति थियो। यसैकारण सत्ता परिवर्तन भयो। यसलाई लेखकले कसरी सहजीकरण गर्लान्? त्यो हेर्न बाँकी छ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्