Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिजोजस्तो घेराबन्दीमा छैन, परिणाम आउने गरी काम गर्छु : प्रधानमन्त्री ओली

मंगलबार, साउन १, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिबद्धता उनले जनाएका हुन् । मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको बधाई तथा शुभकामना कार्यक्रममा उनले कठिनाइमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने भन्दै आश्वस्त पारे ।

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुने गरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको उनको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्