Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली सरकार ढाल्ने शक्तिशाली ‘डिफ्याक्टो’, ओली सरकारकी शक्तिशाली मन्त्री कसरी भइन्?

मंगलबार, साउन १, २०८१

काठमाडौं– कतिपय राजनीतिक घटनाक्रम निक्कै रोचक लाग्छन्। परिदृश्य कुनै सिनेमाको भन्दा कम छैन। त्यसका केही उदाहरण छन्। 

०७९ को निर्वाचनपछि प्रतिनिधि सभामा उपस्थित दलको शक्ति सन्तुलन निक्कै घोचक बन्यो। कसैले पनि बहुमत प्राप्त गर्ने अवस्था नभएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुने खेल नै रोचक थियो। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्रीमा पहिलो पालोमा अडान कसेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सरकार गठनको समयसीमा घर्किँदो थियो। त्यसैबेलासम्म आलै रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धमा प्रचण्डले निखार ल्याए। 

भक्तपुरको बालकोटको बार्दली प्रचण्डको प्रधानमन्त्री पदमा पुग्ने हुटहुटीका निम्ति सन्जिबनी बुटी बन्यो। प्रधानमन्त्री नियुक्ति हुने केही घन्टा बाँकी रहँदा बालकोटमा राजनीतिक चहलपहल सुरु भयो। प्रचण्ड पुगे। सरकारमा जाने म्यान्डेड नपाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत अध्यक्ष सीके राउत, जसपा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ सबै पुगे र एक सहमतिमा हस्ताक्षर भएपछि प्रचण्ड प्रधानमन्त्री नियुक्त हुन पुगे। 

यसपछि प्रचण्ड विश्वासको मत, एमाले र रास्वपा सरकारबाहिर, कांग्रेस सरकारभित्र यावत् भए। फेरि कांग्रेस सरकारबाहिर, एमाले र रास्वपा सरकारमा पनि पुगे। रोचक देखियो। 

घोचकचाहिँ अहिलेको कांग्रेस र एमालेको समीकरण बनेको छ, प्रचण्ड र लामिछानेका निम्ति। ओलीको छत्रछायाँमा राजनीति गरिरहेका लामिछाने अहिले एमालेप्रति आक्रामक छन्। प्रचण्डको पारा उही हो। 

तर, सबैभन्दा आश्चर्यलाग्दो विषयचाहिँ निर्वाचनअघिको राजनीतिक परिघटना र त्यसका नेपथ्यका कथा छन्। 

ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि तत्कालीन राष्ट्रपति भण्डारीले विघटन गरेको घोषणा गरेकी थिइन्। त्यस कदमविरुद्ध विपक्षी दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरे। ११ फागुनमा सर्वोच्चले उनको विघटनलाई असंवैधानिक भन्ने फैसला दियो।

७ जेठ २०७८मा दोस्रो पटक ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरे। फेरि दलहरू रिट दायर गर्न सर्वोच्च अदालत पुगे। अदालतमा ओलीको कदम फेरि गलत ठहरियो।

एमाले र माओवादी नेकपाबाट अलग भई ब्युँतिए। एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी भन्ने पार्टी गठन भयो। 

देउवा ओलीको घोषणा गरेको निर्वाचनको पक्षमा भए पनि प्रचण्डले फरक दाउ खेले। उनले आरजु राणालाई उपयोग गरी देउवालाई प्रधानमन्त्री बनाउने दाउ हानेपछि भने परिदृश्य अलग भयो। 

त्यहि बेला आरजु शक्तिशाली ‘डिफ्याक्टो’ प्रधानमन्त्री बनिन्। जसले एमालेबाहेकको समीकरण बनाउने प्रचण्डका निम्ति कांग्रेसलाई सत्ताको प्रधान बनाउन सहयोग गरिन्। 

यसैकारण तत्कालिन ओली सरकार ढलेको थियो। प्रचण्डले त्यसलाई ठूलो जीतको पर्व मनाए आरजुसँग। 

प्रतिनिधि सभा विघटनपछि कांग्रेस र माओवादीसहितको समीकरणको सरकार बनाउनका लागि प्रचण्डले आरजु राणाको सहयोग लिएका थिए। त्यसबेला एउटा तस्बिर निक्कै रोचक हिसाबले चर्चित भयो, भारतीय दूतावासमा प्रचण्ड–आरजु भेटको।

तर यतिबेला अझ फरक चर्चा के हो भने त्यसबेलाकी शक्तिशाली डिफ्याक्टो कांग्रेस–एमालेको समीकरणमा बनेको ओली सरकारको शक्तिशाली मन्त्री बनेकी छन्। उनी विदेश मामिला हेर्ने परराष्ट्रमन्त्री मात्र होइन, समीकरणको प्रमुख घटक कांग्रेस सभापति देउवाको प्रतिनिधिका रुपमा पनि स्थापित छिन्। 

यसबेला भने प्रचण्डको केही सीप चलेको छैन। बरु, कांग्रेस र एमालेको समीकरणमा सरकार बनेपछि प्रचण्ड, लामिछानेलगायतका नेता बर्बराउन थालेका छन्।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्