Nic Ad Nic Ad
Nic Ad Nic Ad

महावीर पुनको दावी- सप्तगण्डकी कलेजले मेरा किताबमा छुट माग्यो, मैले दिइन

मंगलबार, साउन १, २०८१

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सप्तगण्डकी कलेज भरतपुरका एकाउन्टेन्टले लाईब्रेरीको लागि आफनो जीवनीमा आधारित किताबमा २० प्रतिशत छुट मागेको आरोप लगाएका छन् ।

मंगलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनले २० प्रतिशत छुट मागेपछि किताब नदिएको बताएका छन् । विद्यार्थी र पुस्तक पसलले मात्र ५० रुपैया छुट पाउने उनले भनेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्-

सप्तगण्डकी कलेज भरतपुरको एकाउन्टेन्टलाई लाईब्रेरीको लागि मेरो आत्मकथाको किताब किन्न २० प्रतिशत छुट चाहियो रे। त्यसैले किताब दिइएन। विद्यार्थी र पुस्तक पसलले मात्र ५० रुपैया छुट पाउँछन् ।

यो स्टाटस लेखेको केहि समयमै पुनः अर्को स्टाटस लेख्दै उनले भनेका छन् :

भरतपुरको सप्तगण्डकी कलेजले लाईब्रेरीको लागि रु. ७५० प्रति किताबको दरले १० वटा किताब किनेर राख्यो । भुल सुधारको लागि धन्यबाद ।

त्यसैगरी पुनको स्टाटसलाई लिएर लेखक भुपिन खड्काले सामाजिक सञ्जालमै स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रिय महाबीर दाइ

तपाईँ र तपाईँको अभियानको सम्मानमा #सप्तगण्डकी_बहुमुखी_क्याम्पस मा बढो प्रेमपूर्वक कार्यक्रम गरेर उच्च सम्मानसाथ स्टाटस लेखेको केही समयपछि क्याम्पसको लाइब्रेरी बिरुद्ध तपाईँले लेख्नु भएको 'रातो आतङ्क' पढ्नु पर्यो । नमज्जा लाग्यो । प्राध्यापक साथीहरूले तपाईँको किताब किनेर तपाईँसँग खिचेका तस्बिरहरू प्रेमले फेसबुकमा राख्दै गर्दा तपाईँ अचानक आवेशमा आउनु भएछ ।

क्याम्पस परिसरमा म तपाईँको साथमै थिएँ र आफूले मानेको नवप्रवर्तनको सास्कृतिक बिम्बलाई भेट्न पाएकोमा आनन्दको अनुभव गरिरहेको थिएँ ।

धेरै ठाउँमा जानु पर्ने तालिकाका कारण तपाईँ हतारमा हुनुहुन्थ्यो, स्वभाविक थियो । लाइब्रेरीमा पुस्तक राख्ने छलफल हुँदाहुँदै र सौरभ जीले सम्झाउन खोज्दाखोज्दै तपाईँ गालीका केही शब्द बोल्दै अचानक बाहिरिनु भयो । र पनि म अझै प्राध्यापक साथीहरूसँग तपाईँको दृढलब्धीलाई गान्धीको सत्याग्रहसँग जोडेर चर्चा गर्दै थिएँ । तपाईँले मन्तव्यका क्रममा प्रयोग गर्नु भएको ‘म बौलाहा हुँ' भन्ने बिम्ब प्रयोग गर्दै भनिरहेको थिएँ, 'महाबीरजस्ता बौलाहाहरू देशलाई अत्यावश्यक छन् । यस्ता बौलाहाहरू नजन्मे देशको समृद्धी असम्भव छ । महाकविले उहिले लेखेकै छन्ः

जरुर साथी म पागल

यस्तै छ मेरो हाल

कार्यक्रम सञ्चालन गर्दा पनि मैले यही भनेको थिएँ । प्रेमले ।

जब क्याम्पसबाट फर्किएँ, मेसेन्जरमा #रातो_आतङ्क पर्खिरहेको रहेछ, हेटौँडाबाट प्रिय सम्प्रास भाइले पठाउनु भएको । पढेर मन दुख्यो । क्याम्पस र लाइब्रेरीका आआफ्ना नियमहरू हुन्छन् । तपाईँले 'प्रधानमन्त्रीले मागे पनि डिस्काउन्टमा किताब बेच्दिन' भनेजस्तै क्याम्पस लाइब्रेरीको नियमले 'नोबेल पुरस्कार प्राप्त लेखक वा कृति भए पनि चलिआएको डिस्काउन्ट चाहिन्छ' भन्न सक्छ । हो, कहीँकतै बिरालो बाँध्ने कर्मकाण्ड पनि हुन्छन् । यसबारे तत्काल हामीले क्याम्पसभित्रै छलफल गरेका पनि थियौँ । तपाईँको 'किताब बिक्रिको कठोर नियम' थाहा नभएर लाइब्रेरीले बीस प्रतिसतबारे सोध्दा तपाईँ यति आवेशमा आउनु पर्ने थिएन । एकछिन समय दिनु भएको भए समस्याको हल तत्काल त्यहीँ निस्किहाल्थ्यो पनि । हामीले त प्रेमपूर्वक ७५० नै तिरेर किनेका थियौँ ।

अहिले #नीलो_स्टाटस आएछ । तर क्याम्पसको मन छ्याङ्गै खुशी छैन । यसको अर्थ तपाईँप्रतिको सम्मान घटिहालेको नबुझ्दिनु होला । तपाईँको अभियानप्रति हाम्रो ऐक्यबद्धता छ । प्रेम छ । रहिरहने छ । तर मैले यति त भन्नै पर्छ, तपाईँलाई हृदयदेखि प्रेम गर्नेहरू बिरुद्ध नै आज तपाईँले आफ्नो लोकप्रियताको शक्ति (Popularity Power) को दुरुपयोग गर्नु भयो । यसरी त तपाईँले गाली गर्ने सत्ता र तपाईँमा के अन्तर रहन्छ ? सत्ता तपाईँलाई सहयोग गर्न जान्दैन । तपाईँ आफूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्न जान्नुहुन्न ।

तपाईँ पनि मानिस नै हो, मानिसबाट गल्ती हुन्छ । हामी मानिस हौँ, हामीबाट पनि केही चित्त दुखाई भयो होला । यसलाई हामीले अन्यथा लिएका छैनौँ । तर अन्यत्र जाँदा तपाईँलाई प्रेम गर्नेहरू विरुद्ध यसरी आवेशमा नआइदिनु होला । सानो चित्त नबनाउनु होला । मनैदेखि समाज सुधार्न हिँडेको मानिस दृढसंकल्पित हुन सक्छ, प्रेम गर्ने मानिसलाई यसरी दुखी बनाउन सक्दैन ।

फेरी पनि हामी तपाईँको अभियानलाई आआफ्नो तरिकाबाट सहयोग गर्न इच्छुक छौँ । फेरी पनि हामी तपाईँको नवप्रबर्तन अभियानको पूर्ण सफलताको शुभकामना गर्दछौँ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्