नेभिगेशन
राजनीति
राजनीति

एमालेमा जन्मियो अर्को शक्तिशाली गुट, इपिसेन्टर चपली

काठमाडौं– माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेपछि पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको एकाधिकार हावी भयो भन्ने धेरैले ठानेका थिए। 

कतिपय नेता प्रतिवाद नगरी निरिह भएर ओलीको महिमागान गाउनुको विकल्पमा जाने स्थिति पनि थिएन। प्रतिवाद गर्ने भिम रावलहरू कर्नरमा छन्। ठाउँ नपाएका घनश्याम भुसालहरू केही समय बसे पनि अन्ततः छाड्न बाध्य भए। 

तर विस्तारै ओलीको एकाधिकारवाद खुम्चिन थालेको छ भने एमालेमा अर्को शक्तिशाली गुटको जन्म भइसकेको छ। 

त्यो गुटको सार्वजनिक रुपमा घोषित नभए पनि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, गोकुल बास्कोटालगायतका निम्ति ओलीलाई चेकमेट दिने हतियार बनेको छ। 

गुटको नायिका चपलीमा बस्छिन्। उनी पूर्वराष्ट्रपति, एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी हुन्। त्यसैले प्रधानमन्त्री नियुक्त हुनासाथ ओली भण्डारीसँग संवाद गर्न शितलनिवासबाट सिधा चपली पुगेका थिए। 

ओलीले भण्डारी सक्रिय राजनीतिमा नआउने ठानेका थिए। त्यसैले एउटा कार्यक्रममा उनले भनेका थिए,‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने चलन छैन, उहाँ पनि आउनुहुन्न।’

तर त्यसको भएन। भण्डारी निस्क्रिय बस्न चाहिनन्। उनी एमालेभित्र आफ्नो हिस्सेदारीको खोजी गर्न थालिन्। उच्च स्रोतले भन्यो,‘उहाँ अब सक्रिय राजनीतिमा मात्र होइन, ओलीको विकल्पमा पनि खडा हुने पात्र हो।’

दुई पटक राष्ट्रपति भएपछि भण्डारी राजनीतिमा निस्क्रिय रहने प्रक्षेपण गरिएको थियो। तर त्यसो भएन। जनताको बहुदलीय जनवादको जन्मदाता मदन भण्डारीको लिगेसी आफूमा रहेका कारण एमालेमा सक्रिय हुने चाहना राखिन्। यसकारण पार्टी सदस्यता नविकरण गरिन्। अहिले सत्ता होस् वा एमालेका विभिन्न कमिटी त्यहाँ भण्डारीको भाग छुट्याउनै पर्ने दबाबमा छन्, ओली। अहिलेको सरकारमा रहेका मन्त्रीहरूमा पनि भण्डारीका मान्छे छन्।

जे होस् एमालेमा ओलीको एकाधिकारवादमा लगाम लगाउने कसीका रुपमा भण्डारीको सक्रियतालाई भित्र भित्रै निकैले खुशी मानेका छन् भने यसको प्रभावका बाछिटा पनि देखिन थालिसकेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति