Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र बिकास बोर्डका दुई दाबेदार : बालुवाटारतिर करिश्माको चर्चा

बुधबार, साउन २, २०८१

काठमाडौँ- साउन ९ गतेबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट भुवन केसीको कार्यकाल सकिँदैछ । अध्यक्षको पद रिक्त हुनै लाग्दा फिल्मकर्मीहरुको दौडधुप सुरु भैसकेको छ ।

असारको सुरुवातसम्म माओवादी निकट फिल्मकर्मीहरु अध्यक्षका लागि ‘लबिङ’मा थिए । त्यसबेला सरकार माओवादीको थियो । तर, अहिले एमाले र कांग्रेसको संयुक्त सरकार बनेका कारण अध्यक्षका लागि आकांक्षीको अनुहार फेरिएको छ ।

सञ्चार मन्त्रालय एमालेले पाएकाले यही पार्टीका फिल्मकर्मीहरुले सक्रियता बढाइरहेका छन् । र, आकांक्षीको संख्या बढ्दो देखिन्छ । बोर्ड अध्यक्षका लागि सबैभन्दा बलियो दाबेदारमा दुई अनुहार देखिएका छन्, नायिका करिश्मा मानन्धर र निर्देशक दिनेश डिसी । जगजाहेर छ, उनीहरु एमाले हुन् । सदस्यता समेत छ । र, उनीहरु दुवै प्रधानमन्त्री ओलीसँग सिधै पहुँच राख्ने फिल्मकर्मी हुन् ।

३ वर्षमा पार्टीले करिश्मालाई चुनाव प्रचारमा अनुहार भजाउनबाहेक अरु कुनै जिम्मेवारी दिएको छैन । त्यसैले उनलाई पार्टीमा टिकाइराख्न पनि बोर्ड अध्यक्ष दिन सक्ने सम्भावना छ ।

यसअघि एमाले सरकारमा रहँदा स्वर्गीय केशव भट्टराई र दयाराम दाहाललाई बोर्ड अध्यक्ष बनाउन दिनेशको ठूलो भूमिका थियो ।

यसपटक उनी आफैं बोर्ड अध्यक्षका लागि लबिङमा छन् । यसले पनि ओलीले बोर्ड अध्यक्षका लागि चासो देखाएको अवस्थामा करिश्मा र दिनेशमध्ये एक हुनसक्ने सम्भावना प्रवल देखिएको छ । सम्भवतः साउन अन्तिम वा भदौ पहिलो सातासम्ममा बोर्डले नयाँ अध्यक्ष पाउन सक्छ । अध्यक्षको कार्यकाल दुई वर्षको हुने गर्छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्