Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीलाई गृहमन्त्रीको निर्देशन- विपद्‍मा जनताले सम्झिन्छन्, उच्च मनोबल बनाइराख्नू

बुधबार, साउन २, २०८१

काठमाडौं- नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि सम्बोधन गर्दै उनले संविधान र कानुनका कुरा कार्यान्वयनमा प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहेको बताए ।

‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ,’ उनले भने, ‘ती आफैं परिचालित र क्रियाशील हुने होइनन् ।’

उनले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन रहेको बताए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन । नेताहरूले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन । लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो,’ लेखकले भने ।

निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उनले दिए ।

‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरन प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ’, गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँ ।’

गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्