Nic Ad Nic Ad
Nic Ad Nic Ad

मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बिहीबार, साउन ३, २०८१

पाँचथर– बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढीपहिरोका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।


राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ ।

यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनको भनाइ छ ।


यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ ।

बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताए । बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ ।

याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको । सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले बताए ।

वडाध्यक्ष राईका अनुसार बाढीपहिराले अवरुद्ध सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिम तथा याङवरक गाउँपालिकाको समन्वयमा एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्नेछ ।

बाढीपहिरोले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ ।

याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँचीखेती हुने सयौँ रोपनी जमिन पहिरोले बगाएको छ ।

बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो । उक्त पुल हालसम्म पुनर्निर्माण भएको छैन ।

 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्