Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्रान्सका सर्वाधिक गोलकर्ताले लिए सन्यास

बिहीबार, साउन ३, २०८१

एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गरेका फरवार्ड ओलिभिएर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको औपचारिक घोषणा गरेका छन् ।

३७ वर्षीय जिरुडले यसअघि मेमा नै जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप फ्रान्सका लागि आफ्नो अन्तिम प्रमुख प्रतियोगिता हुने बताएका थिए ।

इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानका पूर्व फरवार्ड जिरुडले अब आफ्नो देशबाट नखेल्ने पुष्टि गरेका हुन् । सामाजिक सन्जाल इन्स्टाग्राममा उनले लेखे, ‘डरलाग्दो क्षण आइपुगेको छ।त्यो हो फ्रान्सेली राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण ।’


‘फ्रान्सेली राष्ट्रिय टोलीसँगको मेरो करियर सधैं सहज रहेन । मैले कहिलेकाही शंका गरेको छु र आलोचना पनि भोगेको छु, तर मैले टोलीलाई विश्वास गर्न छाडिन । कडा परिश्रम, नम्रता र प्रार्थनाले मलाई कठिन समयमा मद्दत गरेको छ । मेरी श्रीमती र मेरा ४ छोराछोरीको अथक सहयोगको लागि धन्यवाद, मैले सधैं लड्न र प्रत्येक पटक अझ बलियो भएर फर्कने शक्ति पाएको छु,’ उनले सन्यासबारे लेखेका छन् ।

जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता हुन् । उनले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप दौरान थिएरी हेनरीले राखेको कीर्तिमानलाई उछिनेर सर्वाधिक गोलकर्ता बनेका थिए । उनले फ्रान्सबाट १ सय ३७ खेलमा ५७ गोल गरेका छन् । हेनरीको ५१ गोल छ । हालका कप्तान केलियन एमबाप्पेले ८४ खेलमा ४८ गोल गरेका छन् ।

ओलिभिएरले थुप्रै उपलब्धि हासिल गरेर फ्रान्सेली टोली छाड्ने निर्णय गरेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बताएका छन् । उनले भनेका छन् ‘सामान्यतया, म उनको अटल प्रतिबद्धताबाट प्रभावित छु । त्यसको लागि, हामीले उनको प्रशंसा गर्नुका साथै धन्यवाद भन्नै पर्छ ।’

‘फ्रान्सेली राष्ट्रिय टोलीमा ओलिभिएरका लागि त्यति सहज भएन । तर उनले कहिल्यै हार मानेनन्, सधैं आफ्नो गम्भीरता, व्यावसायिकता र लडाइँको भावना देखाए,’ डेसच्याम्पले थपे ।

फ्रान्स गतसाता स्पेनसँग २–१ ले पराजित हुँदै युरो २०२४ को सेमिफाइनलबाट बाहिरिएको थियो । त्यो खेलमा जिरुड दोस्रो हाफमा मैदान छिरेका थिए । युरो २०२४ मा उनले वैकल्पिक खेलाडीको रुपमा मात्रै खेल्ने अवसर पाएका थिए ।

यो समरसँगै एसी मिलान छाडेका जिरुड अमेरिकी मेजर लिग सकर क्लब एलए एफसीमा अनुबन्ध हुने भएका छन् । उनले जुलाई १८ मा आधिकारिक रुपमा एलए एफसीसँग सम्झौता गर्दैछन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्