Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेसको दाबी

बिहीबार, साउन ३, २०८१

काठमाडौँ- नेपाली काँग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ ।

केन्द्रमा काँग्रेस-एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरूले बताएका छन् । काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए ।

काँग्रेसकै एक प्रदेश सभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पहिलो चरणको मुख्यमन्त्री काँग्रेसले पाउन सक्ने उत्तिकै सम्भावना रहेको तर्क गरेका छन् ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व काँग्रेसले पाउनुपर्ने लबिङ गर्न काठमाडौँ पुगेर पार्टी सभापति देउवालगायत नेता भेटेका छन् ।

यता एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति नै कार्यान्वयन हुने बताए ।

लुम्बिनीको नेतृत्व एमालेले पाए संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुनेछन् ।

यता अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले पनि काँग्रेस एमालेबीच नै पहिले कसले नेतृत्व गर्ने भन्ने विषय नटुङ्गिएको आफूले राजीनामा नदिएको बताएका छन् ।

मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्रै आफूले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने निर्णय गर्ने मुख्यमन्त्री महराले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्