Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

कांग्रेस सभापतिमा गगन थापा उदयको प्रस्थानविन्दु

शुक्रबार, साउन ४, २०८१

काठमाडौं– उमेरका हिसाबले पनि १५औं महाधिवेशनमा सभापति पदबाट शेरबहादुर देउवाले विस्थापन लिँदै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा महामन्त्री गगन थापाको प्रस्थानविन्दु तय भएको छ। 

सरकारमा मन्त्री पद नलिखे तर सिधा प्रधानमन्त्री नै बन्ने उनको उद्घोषका पछाडि ठूलो तयारी रहेको अनुमान गर्न सकिन्छ। नेपाली कांग्रेसको विधानअनुसार प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता अनिवार्य बन्नुपर्छ। 

कांग्रेसको राजनीतिक ट्रयाक रेकर्ड हेर्ने हो भने संसदीय दलको नेता बलियो सांगठनिक संरचना भएको व्यक्ति हुन्छ। अर्थात् सभापति नै प्रायः संसदीय दलको नेता बनेका इतिहास छन्। 

हालका सभापति देउवा पनि संसदीय दलमा निर्वाचित व्यक्तित्व हुन्। उनी कांग्रेस–एमाले सहकार्यको अन्तिम कार्यकालका प्रधानमन्त्री निश्चित छन्, गठबन्धन नभत्किएको खण्डमा।

गठबन्धनको आयुसँगै कांग्रेसको १५औं महाधिवेशन पनि सुरु हुनेछ। थापा यस पटक सरकारमा मन्त्री बन्न नजानुको कारण पनि महाधिवेशनको तयारी हो। 

‘राजनीतिक विषयमा नेतृत्व लिने सवालमा थापाको तयार पूरा छ। जसले जे भने पनि आगामी नेतृत्वमा उदाउने उनको प्रयास र अभ्यास अहिलेदेखि नै जारी छन्’, कांग्रेस उच्च स्रोतले भन्यो। 

१३औं महाधिवेशनमा कृष्ण सिटौलासँग उभिएर महामन्त्रीमा पराजित भएका थापा १४औंमा डा. शेखर कोइरालाको कित्तामा उभिँदा सर्वाधिक मत ल्याएका महामन्त्री बने। अब, उनले सिधा नेतृत्वमा धावा बोल्ने रणनीति अख्तियार गरेका छन्। 

‘अहिले सरकारमा सहभागी नभई आगामी महाधिवेशनमा युवाको हस्तक्षेप गर्ने तयारीअनुसार थापा नेतृत्वमा उदाउने प्रस्थानविन्दु तय भइसकेको छ’, उच्च स्रोतले भन्यो,‘आगामी महाधिवेशनमा गगनसहित विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतको नयाँ समीकरण बने कुनै नौलो विषय हुनेछैन।’

यता सभापति देउवा नेतृत्वबाट विदाई लिँदै गर्दा उत्तराधिकारीका रुपमा पदाधिकारीमा पत्नी आरजु राणालाई सहभागी गराउन चहान्छन्। उनले सोहीअनुसारको आगामी समीकरणमा कसलाई सहयोग गर्ने भन्ने नीति अख्तियारी गर्नेछन्। 

‘देउवासँग दुई वटा विकल्प देखिन्छ। त्यो प्रयास पनि हुनेछन्। पहिलो, विधान संशोधन गरी तेस्रो पटक सभापति बन्नका लागि मैदानमा उत्रिने अथवा दौड छाडेर पत्नीलाई अगाडि सार्ने’, एक नेता भन्छन्,‘यसका निम्ति विभिन्न विकल्पमा बन्ने समीकरणसँग देउवाको बातचित भइरहनेछन्।’

नेतृत्वमा आउन चाहना राख्ने विभिन्न गुट र समूहलाई परास्त गर्न सक्नेगरी थापाले युवा नेतृत्वको नयाँ मोर्चा तयार पार्दै जाने रणनीति पनि अख्तियार गर्नेछन्। यसैकारण पनि गगनको त्यो रणनीतिलाई परिकल्पना गरिसकेका देउवा अहिले क्याम्प भन्दा पनि जिम्मेवारीको खेल खेलिरहेका छन्। उनले पार्टीका महत्वपूर्ण कामको जिम्मेवारी थापालाई दिइरहेका छन्। 

जे होस्, १० बर्षसम्म मात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका गगनले कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्वमा धावा बोल्नेमाचाहिँ कुनै शंका नरहेको दाबी गरिन्छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्