Nic Ad Nic Ad
Nic Ad Nic Ad
कर्नरमा कोइरालाहरू

कांग्रेस नेतृत्वबाट कोइरालाहरू कसरी किनारातिर लाग्दैछन्?

शुक्रबार, साउन ४, २०८१

काठमाडौं– नेपाली राजनीतिक इतिहासमा विश्वेश्वर प्रसाद (वीपी) कोइरालापछि ठूलो इतिहास कायम गरेर विदा भए गिरिजाप्रसाद कोइराला। 

गिरिजाप्रसादपछि कोइरालाको बिरासत थामेका थिए, सुशील कोइरालाले। यसपछि भने कांग्रेसको केन्द्रीय सत्ता राजनीतिबाट कोइरालाहरू किनारा लाग्दै गर्दा शेरबहादुर देउवाको अभूतपूर्व उदय भयो। 

कोइराला बिरासतको नेतृत्व आफूले गरेको भनी रामचन्द्र पौडेल (हालका राष्ट्रपति)ले दाबी गरे पनि यो निरन्तरताको क्रमभङ्ग डा. शेखर कोइरालाले गरिदिए। 

कांग्रेसको केन्द्रीय राजनीतिमा उदाउन नसकेका पौडेल राष्ट्रपतिमा चित्त बुझाउन बाध्य भए। 

तर कोइराला बिरासतको उदय गराउन शेखर सक्षम होलान्? किनभने उनी सभापति पदमा पराजित भइसकेका छन् भने उनलाई साथ दिने समूहमा नै भावी नेतृत्वका विषयमा बीचैमा खटपट भएको थियो।  

महामन्त्री गगन थापा आफू उदाउने लयमा लाग्दा उपसभापति धनराज गुरुङले शेखरकै निरन्तरताको अडान कसेका थिए। त्यो खटपट तत्कालका लागि थाम्नलायक भए पनि आगामी महाधिवेशनमा भने सम्भव नहुने जानकारहरू बताउँछन्। 

यसकारण कोइराला परिवार कांग्रेसको केन्द्रीय राजनीतिबाट किनारातिर लाग्न थालेको त होइन? भन्ने आशंका स्वभाविक बन्न थालेको छ। 

शेखरलाई त्रास छ कि आगामी महाधिवेशन समयमा हुँदैन भन्ने। त्यसैले ५ महानगरका कांग्रेसका सभापतिसँग भेट गरी शेखरले यहि संकोचलाई उधिनेका छन्। ‘अब पनि समयमा महाधिवेशन हुन्छ भन्ने लागेको छैन, समयमा नै गर्नका लागि तल्लो तहबाट नेतृत्वमा दबाब दिन आवश्यक छ’, शेखरले भनेका छन्। 

विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्छ। त्यसैले २०८२ को मंसिर २४ गतेपछि महाधिवेशन हुनुपर्नेमा कोइरालाको जोड छ। उनले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताएका छन्। 

कोइराला २०७८ मा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार काठमाडौं महानगर सभापति निलकाजी शाक्य, ललितपुर महानगर सभापति सुवानन्द धाख्वा, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, विराटनगर महानगर सभापति दीपक चापागाई र वीरगञ्ज महानगर सभापति मनिन्द्र नेपालीसँग कोइरालाले छलफल गरेका हुन्।

कोइरालाका सामु आगामी सभापति बन्नेमा पनि चुनौति छन्। लामो समयसम्म कांग्रेसको केन्द्रमा रहेका कोइराला परिवारका खास उत्तराधिकारीका रुपमा देखिएका शेखर पनि किनारातिर लाग्ने निश्चित जस्तै छ। किनभने उनलाई दरिलो साथ दिएका महामन्त्री गगन थापा आफैं पनि सभापतिमा उठ्ने सम्भावनामा रहेका छन्। उच्च स्रोतले भन्यो,‘परिवारभित्रकै बेमेलले पनि कोइरालाहरू किनारातिर लाग्ने जस्तो देखिन्छ। किनभने दुई दाजुभाई र एक बहिनीमा नै तालमेल देखिएको छैन।’

हुन पनि १४औं महाधिवेशनमा परिवारका सदस्य नै फरक कित्तामा उभिएका थिए। प्रकाशमान सिंहको कित्तामा उभिएकी सुजाता कोइरालाले अन्तिम समयमा शेरबहादुर देउवालाई मतदान गरिन् भने शशांकको नियती पनि त्यहि रहेको थियो। सुजाता गिरीजाप्रसाद कोइराला र शशांक वीपीका सन्तान् हुन्। शेखर भने केशवप्रसाद कोइरालाका छोरा हुन्। 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्