न्यूरोडमा वडाध्यक्षको नेतृत्वमा प्रदर्शन जारी, नगर प्रहरीसँग धकेलाधकेल
काठमाडौँ- न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।
उच्च अदालत पाटनले फुटपाथ विस्तार नरोक्न सडक विभागका नाममा अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः फुटपाथ विस्तारको काम सुरु गरेको थियो । बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएको थियो । उनीहरूले मेयर बालेन साह र नगर प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग उनीहरूले राखेका छन् । महानगरपालिकाको २२ नम्बर वडाध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
विरोध प्रदर्शनको क्रममा अप्रिय घटना हुन सक्ने भन्दै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । नगर प्रहरी पनि उल्लेख्य सङ्ख्यामा खटिएका छन् ।
यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रेसमेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएको थियो ।
सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेको भन्दै महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।