Nic Ad Nic Ad
Nic Ad Nic Ad

यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको हो ।

नेपाली टोलीका बलरहरुले गतिलो प्रदर्शन गरे । कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे । यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् ।यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।

यूएईले पहिलो विकेटका रूपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् । 

तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रूपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो । 

यूएईले दोस्रो विकेटका रूपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको थियो । उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेकी थिइन् । ३।१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको थियो ।

यूएईले तेस्रो विकेटका रूपमा ओपनर थिरथा सतिषलाई गुमाएको थियो । थिरथालाई नेपाली टोलीकी कप्तान इन्दु बर्माले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएकी थिइन् । आउट हुनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले नौ रन बनाएकी थिइन् । ५।३ ओभरमा उनी आउट हुँदा यूएईले ३६ रन बनाएको थियो ।

यूएईले चौथो विकेटका रूपमा समाइरा धरनिधरकालाई गुमाएको थियो । समाइराको विकेट पनि कप्तान इन्दु बर्माले नै लिएकी थिइन् । उनले समाइरालाई कविता कुँवरद्वारा क्याच गराएकी थिइन् । पेभेलियन फर्किनुअघि समाइराले १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएकी थिइन् । ७।२ ओभरमा समाइरा आउट हुँदा यूएईले ४६ रन बनाएको थियो ।

यूएईले पाँचौँ विकेटका रूपमा कविसा एगोडेगलाई गुमाएको थियो । कविसाको विकेट कृतिका मरासिनीले लिएकी थिइन् । कृतिकाले कविसालाई कविता जोशीद्वारा क्याच गराएकी थिइन् । पेभेलियन फर्किनुअघि कविसाले २२ रन बनाएकी थिइन् । उनले २६ बलको सामना गरी दुई चौका पनि प्रहार गरेकी थिइन् । १५औँ ओभरको पहिलो बलमा कविसा आउट हुँदा यूएईले ७८ रन बनाएको थियो ।

यूएईले छैटौँ विकेटका रूपमा हिना होचन्दानीलाई गुमाएको थियो । उनी नौ रनको ब्यक्तिगत स्कोरमा रनआउट भई पेभेलियन फर्किएकी थिइन् । १८।१ ओभरमा उनी आउट हुँदा यूएईले एक सय सात रन बनाएको थियो ।

यसैगरी यूएईले सातौँ विकेटका रूपमा खुसी शर्मालाई गुमाएको थियो । उनलाई कप्तान इन्दु बर्माले पेभेलियन फर्काएकी हुन् । उनलाई इन्दूले कृतिका मरासिनीद्वारा क्याच गराएकी थिइन् । इन्दूले लिएको यो तेस्रो विकेट थियो । आउट हुनुअघि उनले ३६ रन बनाएकी थिइन् । उनले ३९ बलको सामना गरी दुई चौका पनि प्रहार गरिन् । १८।३ ओभरमा खुसी आउट हुँदा यूएईले एक सय सात रन बनाएको थियो । 

यूएईले आठौँ विकेटका रूपमा वैष्णवी महेशलाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी हुन् । उनको विकेट कविता जोशीले लिएकी थिइन् । उनलाई विकेटकिपर काजोल श्रेष्ठले स्टम्पिङ गरेकी थिइन् । १९।३ ओभरमा उनी आउट हुँदा यूएईले एक सय १३ रन बनाएको थियो । 

जुलाई १९ देखि २८ ९साउन ४ देखि १३ गते०सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र यूएई प्रतियोगिताको समूह ‘ए’मा परेका छन् । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानसँगै पनि सोही समूहमा छन् । 

प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्