संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न मन्त्रालयको निर्देशन
विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई सेवा सुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै तत्काल विस्तारित अस्पताल सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रमसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न–गराउनुहुन र सो सेवा सञ्चालन गरेपश्चात् मन्त्रालयलाई जानकारी गराउनुहुन अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसका साथै, विस्तारित सेवा कार्यविधिको ढाँचासमेत मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने बताइएको छ। कार्यविधिमा समेत आवश्यक परिमार्जन गर्ने तयारी भइरहेकाले तत्कालका लागि उपलब्ध कार्यविधिअनुसार सेवा सञ्चालन गर्न भनिएको हो।
मन्त्रालयले ०७७ फागुनमा ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७’ अनुसार, अस्पतालहरूले सरकारले तोकेको चिकित्सकीय परामर्श शुल्क र अन्य शुल्क अस्पतालको नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन सक्ने, सेवाको सूची तयार गरी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी प्राप्त सेवा उपयोग गरेबापत बुझाउनुपर्ने शुल्कलगायत विषय देखिने स्थान राख्नुपर्नेलगायतका व्यवस्था गरेको छ।
यसबाहेक, कार्यक्रम सञ्चालनका लागि छुट्टै समिति गठन गर्नुपर्ने, सेवा संकलित रकमलाई अस्पतालले छुट्टै खातामा राख्नुपर्नेलगायतका व्यवस्था कार्यविधिमा उल्लेख गरेको छ।