Nic Ad Nic Ad
Nic Ad Nic Ad

कक्षा ११ को छात्रवृत्ति प्रवेश परीक्षामा ९०.०२ प्रतिशत विद्यार्थी सहभागी, नतिजा आइतबार आउने

शुक्रबार, साउन ४, २०८१

काठमाडौँ- कक्षा ११ को छात्रवृत्ति प्रवेश परीक्षामा ९०.०२ प्रतिशत विद्यार्थी सहभागी भएका छन् । परीक्षार्थीमध्ये आचरण पालना नगर्ने २ जनाको परीक्षा रद्द गरिएको छ । आज बिहान ८ बजेबाट थालिएको परीक्षाका लागि ३८ वटा केन्द्र तोकिएका थिए । नतिजा आइतबार प्रकाशन गर्ने तयारी गरिएको छ ।

शैक्षिक सत्र २०८१/८२ मा प्राप्त हुने ४ हजार ६२९ वटा छात्रवृत्ति कोटामध्ये ११ हजार ८७१ जना विद्यार्थी हले आवेदन दिएका थिए । उनीहरूमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । काठमाडौँ महानगरपालिकाका नगर प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलका अनुसार प्रमाणित भएका आवेदनमध्ये विज्ञान विषयका लागि ८ हजार ४९७, व्यवस्थापन विषयका लागि २ हजार ५८१, कानुन विषयका लागि १५३, मानविकी विषयका लागि १३ र शिक्षा विषयका लागि ३७ जना विद्यार्थीका छन् । छात्रवृत्ति प्राप्त गर्ने योग्यता देखिने कागजपत्र प्राप्त नभएका आवेदन अस्वीकृत भएका हुन् ।  

पोखरेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीले प्रवेश परीक्षा प्राप्त गर्दा जुन विधि अपनाएका थिए, त्यही विधिबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले समग्र योग्यताको सूची पनि प्रकाशन गर्नेछ ।  

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए । 

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते बिहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो । 

कुन विषयका लागि कति कोटा
यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाइने छ । यस्तै १ हजार ७५२ जनाले विज्ञान विषयमा, १७३ जनाले मानविकी विषयमा, १३६ जनाले कानुन विषयमा र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा पाइने छ । 

विद्यालयमा गएको वर्ष विद्यार्थी भर्नाको अनुपात, भौतिक क्षमतालगायत सूचकका आधारमा यस वर्षका लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो । 

महानगरपालिका भित्रका शिक्षण संस्था महानगरपालिका क्षेत्रभित्र ३९० वटा संस्थागत शिक्षण संस्था सञ्चालनमा छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानून, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्