Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

रवि लामिछानेको हुंकार, मुकुलको अहंकार र भँगेराको कथा

शनिबार, साउन ५, २०८१

धरै शव्द खर्च गर्नु उचित हुँदैन। राजनीतिमाथि जति टिप्पणी गर्न खोज्यो उतिसाह्रो वितृष्णा जागेर आउँछ। देखेको राजनीति, भोगेको राजनीति र चलिरहेको लाजनीतिबारे बढ्ता नबोलौं भन्ने नै लाग्छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सांसद रहेका यस्ता ‘क्रिम’ मानिसहरूको भविष्य देखेर चिन्ता पनि लाग्छ। ठगहरूको महासभामा पुगेका ति ‘चरीविचरी’को दया लागेर आउँछ। 

समयकालमा दुनियाँदारी देखेको ध्वाँसमा आफ्ना महत्वकांक्षा र स्वार्थको पाठ पढाउने डीपी, स्वर्णिमहरू कुनै सुनौला युगका पात्र होइनन्। न रवि नै कुनै नयाँ सूर्योदयका पयार्यका रुपमा देखिए। 

यसक्रममा रास्वपा नामको मोर्चाको नेतृत्व गरेका रविको चरित्रसँग धेरै कुरा जोडिन्छ। उनी व्यक्तिगत रुपमा कस्ता होलान् भन्ने प्रश्नको उत्तरसँग राजनीतिक चरित्रको साइनो विल्कुलै छैन। 

रवि लामिछानेले माखो पनि मार्ने काम गरेनन्, सरकारमा रहँदा। सरकार बाहिर रहँदा हुंकार, चिच्याहट र प्रतिरक्षात्मक टिप्पणीभन्दा उनका मुखारविन्दुबाट कुनै सृजनात्मक विषय नै आएको छैन। होच्याउने, गाली गर्ने, उल्टी किक हान्ने, नाकको डाँडी भाँच्ने सञ्चारकर्मीय भाष्य लामिछानेले तयार पारेका हुन्। आफूमात्र ठिक भन्ने उनी राजनीतिमा आएपछि मिडियामाथि प्रहार गर्न उद्दत भए। कयन सम्पादकका विषयमा निजी टिप्पणी गर्न भ्याए। 

यीनले राजनीतिलाई यस्तो सस्तो लोकप्रियताको धन्दा बनाउन खोजे कि, यीनिसँग दुई पैसाको राजनीतिक चेतको के कुरा भयो र मानवीयताको अचेतमा मुर्छित रहेको प्रमाणित गरे। यीनिसँग त्यति हुँदो हो त सहकारी ठगी प्रकरणमा जोडिन्न थिए होला। कतिसम्म मूर्ख बनाउने काम गरे भने, आफूले मनलाग्दी खाएको तलब भत्ता र सेवा सुविधाको टेलिभिजनमा कहाँबाट लगानी आयो भन्ने थाहा नै भएनसम्म भन्न भ्याए। यत्ति भनेसी यीनको झूठ र पुराना राजनीतिक दलका नेताका सातबित्ता लामा झूठमा कुनै अन्तर छैन। 

यहिबीचमा अर्का नमूना पात्र मिडियामा छाए। कतिपयले उनलाई गँजडी नै भएको बताइसकेका छन्। देख्ने, नदेख्ने सबैले उनलाई गँजडी देखे। नाम हो, मुकुल ढकाल। रास्वपाका संस्थापक महामन्त्री रहेका उनी सभापति लामिछानेसहित अन्यको बिरोधमा उत्रिए। 

राजनीति फोहोर भयो भनी सफा गर्ने नाममा विभिन्न प्रकारका फोहोरका पोका बोकेर हाम फाल्ने होइन, हाम फालेपछि लागेका फोहोरलाई सफा गर्ने हो। हामफाल्नुअघि नै बोरा का बोरा फोहोर बोकेर सफा गर्छु भन्दा त्यहि फोहोरले थिचिएर थला परिन्छ, हेक्का हुन आवश्यक छ

कहाँसम्म भने नपत्याउँदा पनि निवर्तमान महामन्त्रीले भनेको कसरी नपत्याउनु, पत्याउँदा पनि कसरी पत्याउनेसम्मका कुरा गरे। उनका भनाईमा त रवि, स्वर्णिम, डीपी देशद्रोही हुन्। अब यसलाई कसरी प्रमाणित गर्ने? उनी रविविरुद्ध आगो भएर एकाएक मिडियामार्फत मैदानमा आए। पार्टी कब्जा भएको आरोप लगाए। 

खैर, यी सबै हत्कण्डा हेर्दा तीन कक्षाको भँगेराको कथा याद आउँछ। बिटमार्नुअघि त्यहि कथालाई राख्ने कोशिश गरेको छु। 

चराहरूबीच को राजा हो भन्ने अन्यौल परेछ। अनि चरा महासभामा एउटा प्रस्ताव भँगेराले गरेछ– सबैभन्दा माथि जो उड्न सक्छ, त्यहि राजा। 
चराहरू कोही अलिकति माथि, कोही ठिक्कसम्म त उडे तर सबैभन्दा माथिचाहिँ चील पुगेछ। घमन्डसाथ चीलले भनेछ– अब मै राजा हो, सबैभन्दा माथि उडेको मै हुँ। एकैछिनमा चीलको ढाडमा भँगेरो उड्दै आएर बसेछ, अनि भनेछ– म राजा हुँ। तिमीभन्दा एक बित्ता भए पनि माथि तिम्रो ढाडमा बसेको छु। 

अर्थात् के हो भने रास्वपाका राजा को हुन्? रवि कि मुकुल? यो एउटा प्रश्न छँदैछ। तर, यीनिहरूको उम्रिँदैको तीन पाते शैली र पतन हुनका लागि चलिरहेका मैमत्ताका आरोप अभियोगले स्पष्ट पार्छ, हुंकार र अहंकार स्खलनको द्वार हो। यसकारण स्पष्ट होस्, नयाँ र विकल्पका नाममा जनअनुमोदनलाई खेलाँची सम्झिए नर्कको बाटो खुला छ। 

राजनीति फोहोर भयो भनी सफा गर्ने नाममा विभिन्न प्रकारका फोहोरका पोका बोकेर हाम फाल्ने होइन, हाम फालेपछि लागेका फोहोरलाई सफा गर्ने हो। हामफाल्नुअघि नै बोरा का बोरा फोहोर बोकेर सफा गर्छु भन्दा त्यहि फोहोरले थिचिएर थला परिन्छ, हेक्का हुन आवश्यक छ। 

अतः कोही विद्वान र साँच्चैको राजनीतिका निम्ति हिँडेको भए, त्यसले शुद्धिकरणको पहलकदमी लिन आवश्यक देखिन्छ। अन्यथा– शिवम्।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्