Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीमा कांग्रेसका बहादुरसिंह मुख्यमन्त्री बन्दै

आइतबार, साउन ६, २०८१

काठमाडौं -बागमती प्रदेशमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले भावी मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत नपाउने पक्का जस्तै भएपछि कांग्रेस संसदीय दलको नेता लामाले दाबी पेश गर्ने तयारी गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार गठित सरकारले विश्वासको मत नपाएसँगै उपधारा ३ अनुसार कांग्रेसका बहादुरसिंह लामा सबैभन्दा ठूलो दलको संसदीय नेताको हैसियतमा मुख्यमन्त्री बन्ने छन् ।

यद्यपि कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति अनुरुप पनि लामा नै मुख्यमन्त्री बन्नेगरी दुई दलले सबै तयारी पुरा गरिसकेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

यहाँ सबैभन्दा बढी कांग्रेसका ३७ जना सांसद छन् । एमालेका २७, माओवादीका २१, नेकपा एसका ७, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमाले मिल्दा ६४ सांसद पुग्छ । यहाँ कांग्रेसलाई नेतृत्व दिने भद्र सहमति छ ।

उनीहरुले कांग्रेसका ६४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय गएर आजै दाबी पेश गर्ने तयारी गरेका छन् ।
प्रदेश प्रमुखले उपधारा दुई वा तीन जुन प्रयोग गरेपनि केन्द्रको सहमति अनुसार मुख्यमन्त्रीको दाबी पेश गर्ने सबै तयारी पुरा भइसकेको एमाले सांसद केशव पोखरेलले जानकारी दिए ।

लामाले दाबी पेश गरेलगत्तै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । संघीयता कार्यान्वयन पश्चात बागमतीमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।


 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्