Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

आइतबार, साउन ६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाएका छन् । गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले संसद्‍को दुईतिहाइ समर्थन पाएका हुन् ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । त्यसैअनुसार उनको पक्षमा नेपाली कांग्रेससहितका दलहरूले संसद्‍को दुईतिहाइ अर्थात् १८८ मत पाएका हुन् । ओलीको विपक्षमा ७४ मत परेको छ । संसद्मा आज २६३ जना उपस्थित थिए ।

उनको पक्षमा ७ वटा दल र तीन स्वतन्त्र सांसद गरेर १ सय ९२ सांसदले मतदान गरेका छन् । ओलीको पक्षमा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७६ सांसदले मतदान गरेका छन् ।

एमालेका २ सांसदले मतदान गरेनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित भएनन् । यस्तै, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।

ओलीलाई डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदले विश्वासको मत दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७ सांसदले पनि ओलीलाई मत दिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्ति पार्टीका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले ओलीलाई विश्वासको मत दिए ।

यीमध्ये नागरिक उन्मुक्ति, जनमत र जसपा नेपाल संघीय सरकारमा सहभागी छैनन् । स्वतन्त्र सांसदहरू योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीको पक्षमा मतदान गरे ।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । २७५ सदस्यीय प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न १३८ सांसदको समर्थन पाउनुपर्छ ।

उपस्थित सांसद – २६३
पक्ष – १८८
विपक्ष – ७४
तटस्थ – १

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्