Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीमा आज एमाले नेतृत्वमा नयाँ सरकार बन्दै

सोमबार, साउन ७, २०८१

काठमाडौँ - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । एमाले–कांग्रेसको सत्ता गठबन्धन बनेसँगै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि आइतबार राती नै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

मुख्यमन्त्री महराले आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री महराले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुलाएका हुन् ।

सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुने भएको छ । एमाले–कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो चरणमै सरकारलाई पूर्णता दिएर अगाडि बढ्ने सहमति गरिएको बताए । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताए ।

लुम्बिनीमा कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने टुंगो लागेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बताएका छन् । उनले भने, ‘दलको नेता स्वयम हुँदाहुँदै बैठक बसेर निर्णय गरिरहनुपर्दैन । एमालेको तर्फबाट मुख्यमन्त्रीमा दल नेता नै मुख्यमन्त्रीको उम्मेदवार हो ।’

तर, एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले पार्टी केन्द्रको निर्णय केही नआएकाले एमालेबाट नेतृत्वको टुंगो नलागेको बताएका छन् । राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्दै जनताको आर्थिक अवस्था सुधार गर्ने संकल्पसहित नयाँ सरकार बन्ने एमाले संसदीय दलका नेता लीला गिरीको भनाइ छ ।

८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज छ । प्रदेश गठन भएदेखि सधैँ सरकारमा सहभागी भएको दल नेकपा माओवादी केन्द्र भने पहिलोपटक प्रतिपक्ष दलको भूमिकामा पुगेको छ ।

लुम्बिनीमा १० दलमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सबै दल नयाँ गठबन्धनमा रहने बताइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्