Nic Ad Nic Ad
Nic Ad Nic Ad
आरोप–प्रत्यारोप

रविको कटाक्षमा बिनोद चौधरीले गरे यस्तो टिप्पणी, बालकोटअघि बनस्थलीमा गरिएको थियो स्वागत

सोमबार, साउन ७, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा आफूविरुद्ध दिएको अभिव्यक्तिको सांसद तथा उद्योगी बिनोद चौधरीले प्रतिक्रिया दिएका छन्। 

सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीनिवास बालकोटमा उपस्थित भएको विषयमा जानकारी दिँदै लामिछानेविरुद्ध नै कटाक्ष गरेका छन्। 

चौधरी लेख्छन्,‘प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ती दिएका छन्। जसकाप्रति मेरो घोर आपत्ती छ।’

चौधरीले लामिछानेको नाम उल्लेख नगरी अगाडि लेखेका छन्,‘विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन।’

बाँसबारी जग्गा प्रकरणमा आफूले बयान दिनुको कारणबारे पनि खुलाएका चौधरी अगाडि जोड्छन्,‘विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दबाब दिएर ममाथि जुन प्रतिशोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो।’

उनले ओलीनिवास बालकोट जानुको कारणबारे लेखेका छन्,‘अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ। संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु।’

ओलीले विश्वासको मत माग गरेको समयमा विपक्षमा मतदानको घोषणा गरेका लामिछानेले कटाक्ष गरेका थिए। उनले भनेका थिए,‘बाँसबारी जग्गाको छानबिन गर्दा, हामीले बयान लिएका मानिस बालकोटमा गीत गाइरहेका देख्छु। यस्तै हो?’

स्मरणीय छ, चौधरी बालकोट जानुपूर्व बयान र हाजिरी जमानीपछि रास्वपाको मुख्यालय बनस्थली पुगेका थिए। लामिछानेले नै उनको स्वागत गरेका थिए। 

रास्वपाको दोस्रो बार्षिकोत्सवको अवसर पारी बनस्थली पुगेर चौधरीले लामिछाने र उक्त दलको प्रशंशा गरेका थिए। त्यसबेला लामिछाने मख्ख परेका थिए। 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्